प्रकाण्डलाई राखियो काभ्रे प्रहरी हिरासतमा



काभ्रेपलाञ्चोक : प्रहरीले संगठित अपराधमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई पुन पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।

गत साउन २२ गते चन्दा असुलीको अभियोगमा पक्राउ गरिएको कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका–६ घर भएका नेता प्रकाण्डलाई प्रहरीले शुक्रबार बेलुका सर्वोच्च अदालत परिसरबाटै फेरि पक्राउ गरिएको हो।

पक्राउपछि प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक रविराज थपलियाका अनुसार गत वैशाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित ब्लु साईन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका नेता प्रकाण्डलाई संगठित अपराध र आगजनी मुद्धामा आइतबार जिल्ला अदालत काभ्रेमा म्याद थप गरी आवश्यक अनुसन्धानको लागि प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्दय वीरेन्द्रनगर नगरपालिका–२० का कृष्ण धमला(गम्भीर) र धादिङ जिल्ला निलकण्ठ नगरपालिका–३ का मोहन कार्की(जीवन्त)लाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्