एम्बुलेन्स आफै बिरामी परेपछि अब बिरामी कस्ले बोक्ने



दिपक बोहरा, तुलसीपुर, २ भदौ ।

दाङका ठुला अस्पतालमा एम्बुलेन्स नै छैनन् । सरकारी अस्पतालमा एम्बुलेन्स अनिबार्य नै हो । प्रत्येक सरकारी अस्पतालमा ‘क’ बर्गको एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर र राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा एम्बुलेन्स छैनन् ।

अस्पताल स्थापन देखि सञ्चालन हुँदै आएका एम्बुलेन्स बिगत लामो समय देखि बिग्रिएर थन्किएका छन् । ती एम्बुलेन्स मर्मत गर्न तर्फ सम्बन्धित निकायले चासो देखाएका छैनन् । एम्बुलेन्सबिहिन भएपछि बिरामीलाई रेफर गर्दा तथा टाढा टाढाबाट बिरामी ल्याउन निजि एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।

राप्ती अञ्चल अस्पताल तुलसीपुरको एम्बुलेन्स बिग्रिएको तीन बर्ष भयो । तर उक्त एम्बुलेन्स मर्मत गर्न कुनै चासो दिईएको छैन् । अहिले अञ्चल अस्पतालको पार्किङ स्थालमा थन्किएको छ । बिगत तीन बर्ष अघि बिग्रिएको उक्त एम्बुलेन्स मर्मत गर्न अस्पताल प्रशासनले कुनै चासो नदिएपछि अहिले बिरामीहरु पनि मारमा पर्ने गरेका छन् ।

अस्पतालबाट बाहिर रेफर गर्नुपर्ने अबस्थामा निजि एम्बुलेन्समा जानुपर्ने बाध्यता छ । अस्पतालको रा १ झ ११३ नम्बरको एम्बुलेन्स बिग्रिएपछि अहिले निजि एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका सूचना अधिकारी कमल सुवेदीले बताए ।‘

बिगत तीन बर्ष देखि अस्पतालको एम्बुलेन्स बिग्रिएको छ’ उनले भने‘ जसले गर्दा अहिले निजि एम्बुलेन्सबाट सेवा प्रवाह गर्ने गरिएको छ ।’ निजि एम्बुलेन्सले महंगो शूल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्को तर्फ आफुलाई आबश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ ।

अस्पतालमा अनिवार्य एम्बुलेन्स हुनुपर्ने भएपनि बिगत तीन बर्ष देखि अञ्चल अस्पतालमा एम्बुलेन्स नहुनु दूर्भाग्य रहेको सूचना अधिकारी सुवेदीले बताए । ‘अञ्चल अस्पतालमा एम्बुलेन्स अनिवार्य हुनुपर्छ भन्ने मान्यता हो’ उनले भने‘ तर एम्बुलेन्स नहुँनु दुर्भाग्य हो ।’ उक्त एम्बुलेन्स चलाउनका लागि एकजना ड्राईभर दरबन्दी पनि रहेको छ । तर अहिले उक्त दरबन्दी रिक्त छ ।

उपक्षेत्रीय १० बर्ष देखि एम्बुलेन्स बिहिन

घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल १० बर्ष देखि एम्बुलेन्स बिहिन बनेको छ । पटक पटक बिग्रिने र मर्मत गर्दा धेरै पैसा खर्च हुने भएकाले मर्मत नगरी त्यतिकै थन्काईएको अस्पतालका निमित्त मे.सु. जनार्दन पन्थीले बताए ।‘पटक पटक बिग्रि राख्ने समस्या भयो’ उनले भने‘पटक पटक मर्मत गर्दा धेरै खर्च आउने भएपनि त्यतिकै थन्काएर राखिएको छ ।’ अस्पतालले ‘क’ बर्गको एम्बुलेन्स राख्नु पर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए ।

सरकारसंग माग गरेपनि एम्बुलेन्स उपलब्ध नगराएको उनले गुनासो गरे । साथै तत्कालिन अस्पताल बिकास समितिले आफै एम्बुलेन्स किन्ने तयारी स्वरुप दुईपटक टेण्डर गर्र्दा पनि कसैको पनि टेन्डर नपरेको उनले बताए । एम्बुलेन्स खरिद प्रक्रिया झन्झटिलो भएकाले पनि कसैले पनि टेन्डर हाल्न नमानेको उनले बताए । एम्बुलेन्स चालकको लागि समितिले राखेको एक जना र सरकारले पठाएको एक जना गरि दुई जना ड्राईभर छन् । ति ड्राईभरले सम्बन्धित काम नगरेरै तलब खाईरहेका छन् । ‘

अस्पताल बिकास समितिले राखेको एक जना र दरबन्दी अनुसार एक गरि दुई जना ड्राईभर छन्,’ उनले भने‘ उनीहरुले अहिले एम्बुलेन्स नचलाएपनि प्रशासनको अन्य काम गरेर तलब खाईरहेका छन् ।’

सरकारको पर्खाईमा अस्पताल

एम्बुलेन्स बिहिन दुई अस्पताल प्रदेश सरकारको पर्खाईमा छ । प्रदेश सरकारले प्रत्येक अञ्चल अस्पतालमा २÷२ वटा एम्बुलेन्स उपलब्ध गराउने भनी बजेट ल्याएको भन्दै त्यसकै पर्खाईमा रहेको अञ्चल अस्पतालका सूचना अधिकारी सुवेदीले बताए ।‘ प्रदेश सरकारले प्रत्येक अञ्चल अस्पतालमा २÷२ वटा एम्बुलेन्स उपलब्ध बनाउने भनी बजेट ल्याएको छ’ उनले भने‘त्यसकै पर्खाईमा छौं ।’

 

उपक्षेत्रीय अस्पतालका निमित्त मेसु पन्थीले पनि सरकारले पठाएपछि मात्रै एम्बुलेन्स उपलब्ध हुने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्