संक्रमणको उच्च जोखिममा कैदी



विभिन्न अभियोगमा कारागार जीवन बिताइरहेकाहरू सरुवारोग संक्रमणको उच्च जोखिममा देखिएका छन् । ‘थुप्रै कैदीमा विभिन्न प्रकारका सरुवारोगको संक्रमण देखिएको छ,’ नेपाल हेल्थ सोसाइटिका कार्यकारी निर्देशक ऋषि ओझाले भने, ‘कैदीहरूमा एचआइभी एड्स, हेपाटाइटिस, क्षयरोग र तराईका जिल्लामा मलेरियाको जोखिम देखिएको छ ।’ सरकारी प्रतिनिधित्व गर्दै सोसाइटीले वर्षौँदेखि कैदीको स्वास्थ्य अवस्था बुझ्ने र आवश्यकताअनुसार उपचार गर्दै आएको छ ।

ओझाका अनुसार कैदी बन्दीको ठूलो संख्यामा मानसिक रोगबाट पीडित छन् । ‘सरकारले कैदीहरूका लागि सर्ने र नसर्ने रोगको अनिवार्य उपचार गरी निदान गर्ने व्यवस्था गर्नुपर्छ,’ ओझाले भने, ‘हालसम्म कारागारमा मानसिक रोगको कुनै पनि कार्यक्रम सरकारले पु-याएको छैन ।’

रोग सर्ने सम्भावना बढी
‘देशभर करिब १९ हजार कैदीबन्दी छन् । जसमा १७ सय महिला छन्,’ कार्यकारी निर्देशक ओझाले भने । तथ्यांकअनुसार १८ देखि ४० वर्ष उमेर समूहका कैदीको संख्या ९० प्रतिशत छ । सबैखाले कैदी एकै ठाउँमा हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्ने सम्भावना बढी हुन्छ । ‘कारागारभित्र होमो सेक्स नहोला भन्ने आशा गरौँ । तर, हिजो लागुपदार्थ प्रयोग गर्ने, जबर्जस्ती करणी, चेलिबेटी बेचबिखन गर्ने कैदीमा अधिकांश एचआइभी पोजेटिभ देखिको छ,’ ओझाले भने, ‘कैदीको स्वास्थ्य परीक्षण र पोषणको मात्रा न्यून छ । उनीहरूको स्वास्थ्य परीक्षण र पोषणमा सरकार गम्भीर बन्नुपर्छ ।’ सरकारले क्षयरोगको औषधि कारागा मा पु-याए पनि रोग लाग्नबाट कसरी बच्ने भन्ने जानकारी दिन नसकेको उनको दाबी छ ।

हेपाटाइटिसको कार्यक्रम शून्य
हेपाटाइटिसको कार्यक्रम कारागारमा शून्य छ । कारागारका कैदीले एचआइभीको औषधिभन्दा पनि हेपाटाइटिसको भ्याक्सिन माग्न थालेका छन् । ‘कैदीहरू भन्ने गर्छन् एचआइभीको कार्यक्रम धेरै भयो, हामीलाई हेपाटाइटिसको कार्यक्रम ल्याउनु होला,’ ओझाले भने, ‘कैदीको स्वास्थ्यलाई ध्यानमा राख्दै कारागारमा हेपाटाइटिसको कार्यक्रम राख्न आवश्यक छ ।’

झुल वितरण आवश्यक
तराईमा मलेरिया, कालाजार, डेगुँको प्रकोप छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तराईका कतिपय स्थानमा झुल वितरण गरेको छ । कारागारका कैदीलाई भने झुल वितरण गरिएको छैन । सरुवारोगबाट जोगाउन कारागारमा पनि झुल वितरण गर्न आवश्यक छ ।

मानसिक रोग
अधिकांश कैदी मानसिक रोगबाट पीडित छन् । उनीहरूको उपचार गर्ने छुट्टै अस्पतालको आवश्यक छ । नख्खुमा सरकारले मानसिक रोगबाट पीडित कैदीको उपचार गर्न सय बेडको अस्पताल निर्माण गरिरहेको छ । ‘सरकारले कैदीलाई दिनभर कुनै काममा नलगाउने हुँदा मानसिक समस्या देखिएको छ,’ ओझाले भने ।

अर्जुन अधिकारी ,नया पत्रिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्