नयाँ कानुन आउनासाथ पत्नी पिडित भन्दै पुरुषले गरे सम्बन्ध विच्छेदको पहिलो मुद्धा दर्ता, यस्तो थियो घटना



दैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न सकिने व्यवस्थाको प्रयोग गर्दै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । आइतबार महाबु गाउँपालिका, २ का २६ वर्षीय इन्द्रबहादुर राना पत्नी २६ वर्षीय नन्दसरा गुरुङ्ग रानाविरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेको दैलेख अदालतका प्रवक्ता बिनोद आचार्यले बताए ।

ऐनको दफा ९४ को अधिकार प्रयोग गरी आएको मुद्दा नयाँ मुलुकी ऐनपछि पहिलो भएको श्रेस्तेदार रमेश श्रेष्ठले बताए । नयाँ कानुन आउनुअघि महिलाले मात्रै अदालतमा सम्बन्ध बिच्छेदका लागि सिधै मुद्दा दर्ता गर्न पाउने अधिकार रहेको थियो ।

दैलेख जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएको कुल दुई सय १० मुद्दामध्ये ८० वटा मुद्दा सम्बन्ध बिच्छेदसम्बन्धी रहेको थियो । नयाँ कानुनअनुसार दर्ता भएको मुद्दाले दुःखी बनाएको नेपाल बार एसोसियशन जिल्ला अध्यक्ष यामराज थापाले बताए ।

सम्बन्ध बिच्छेद गर्न पाउँ भनी दिएको फिराद पत्रमा इन्द्रबहादुरले आफूले विदेशबाट पठाएको रकम हिनामिना गरेको आरोप लगाएका छन् । विपक्षी बनाइएकी नन्दसराले आफूमाथि झुठो आरोपमा लगाइएको बताएकी छिन् । नौ वर्षअघि विवाह भएको उनीहरुको सात वर्षको छोरा छ । नयाँ पत्रिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्