२५ शैय्याको अस्पताल चलाउँदै



रुकुम पश्चिम। आठबिसकोट नगरपालिकाले २५ शैय्याको अस्पताल सञ्चालन गर्न लागेको छ । सबै तयारी पूरा भएको र केही दिनभित्रै सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ ।

नगरपालिकामै भरपर्दो स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको जनाएको छ । यसका लागि आवश्यक सामग्री र जनशक्तिको व्यवस्था गरिसकिएको र केही दिनमै सुरु गर्ने तयारी भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । ‘अस्पताल सञ्चालनका लागि लगभग सबै तयारी पूरा भएको छ,’ केसीले भने, ‘केही तयारी पूरा गरेर एक साताभित्र सञ्चालन हुन्छ ।’

नगरपालिकालाई २५ र गाउँपालिकालाई १५ शैय्यासम्मको अस्पताल सञ्चालन गर्न पाउने अधिकार दिइएको छ । त्यसैअनुसार, अस्पताल सञ्चालन गर्न लागिएको मेयर गोरखबहादुर केसीले बताए ।स्वास्थ्यकर्मी र कर्मचारी नियुक्त

नगरपालिकाभित्रै सञ्चालन हुन लागेको अस्पतालका लागि २० जना स्वास्थ्यकर्मी तथा कर्मचारी करारमा नियुक्त गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार, दुई–दुईजना हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र अहेब, पाँचजना अनमी, एक–एकजना ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र रेडियो ग्राफरसहित स्वास्थ्यकर्मी र कर्मचारी गरी २० जनालाई नियुक्त गरिएको छ । उनीहरूका लागि यसैसाता तालिमको समेत व्यवस्था गरिएको छ ।

अस्पतालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक पठाउने सहमति भएको छ । प्रतिष्ठानले एकजना चिकित्सक पठाउने केसीले बताए ।

तत्कालका लागि आठबिसकोट नगरपालिका–९ राडीस्थित स्वास्थ्य चौकी, कृषि र सामुदायिक विद्यालयको प्रयोगमा ल्याएको छ । नयाँ भवन निर्माण नहुँदासम्म राडीमै अस्पताल सञ्चालन हुने जनाएको छ । आठबिसकोट–११ सालबारीमा अस्पताल भवन निर्माणको तयारी भइरहेको छ ।

त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन९डिपिआर० बनाउन नेक्स्ट कन्सल्ट, काठमाडौंलाई जिम्मा दिइएको छ । भवनको डिपिआर पूरा भएलगत्तै भवन निर्माण सुरु हुने मेयर गोरखबहादुर केसीले बताए ।

एक करोड लगानी
अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामग्री पनि खरिद गरेर जडान गरिएको छ । बेड, औषधि, ल्याबका सामग्री, एक्सरे मेसिन, इसिजी मेसिनलगायत सामग्री जडान गरिएका हुन् । मेयर गोरखबहादुर केसीका अनुसार २० लाखमा ल्याबका सामग्री, ६ लाखमा बेड र अन्य सामग्रीका लागि ६० लाख खर्च भएको छ । अस्पताल स्थापनाका लागि अहिलेसम्म एक करोडभन्दा बढी खर्च गरिसकेको जनाएको छ । ‘सामग्री र औषधि खरिदका लागि ८६ लाख खर्च भएको छ भने भौतिक व्यवस्थापनका लागि अघिल्लो आर्थिक वर्षमा २० लाख खर्च भएको थियो,’ उनले भने ।
मनीष खड्का,नया पत्रिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्