काठमाडाैं – राष्ट्रियसभाका सांसदहरुले मुस्लिम समुदायको महान पर्व बकर इदमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाका सांसद कविता बोगटीले मुस्लिम समुदायको महान पर्व बकर इदमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्नु भएको हो । बकर इद पर्व बुधबार मनाइँदै छ । सांसद बोगटीले दशैं जस्तै मुस्लिम समुदायको महान पर्व बकर इदमा सार्वजनिक बिदा दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले विभिन्न समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा कटौती गरेर गल्ती गरेको दाबी पनि गर्नुभयो । त्यसैगरी सांसद उदया शर्मा पौडेलले ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको ८० रोपनी जग्गा भाडामा दिएकोमा आपत्ति जनाउँदै तत्काल फिर्ता लिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले विभिन्न बहानामा कर वृद्धि गरिएको उल्लेख गर्दै फिर्ता लिन पनि सरकारसँग जोडदार माग गर्नुभयो । सांसद अनिता देवकोटाले वर्षाको मौसममा आवागमनमा समस्या भएको भन्दै दाङको खोलाहरुमा पुल निर्माण गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले दाङमा मापदण्ड विपरित संचालनमा रहेका सिमेन्ट उद्योग हटाई दिन पनि सरकारसँग माग गर्नुभयो

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।