५ करोड लगानीमा दाङमा होटल म्याजेष्टिक



पाण्डव शर्मा

चैत २९, घोराही । ५ करोड रुपैयाँ लगानीमा दाङको घोराहीमा होटल म्याजेष्टिक स्थापना भएको छ । सञ्चालक वीर क्षेत्रीका अनुसार शुरुममा १२ ओटा गेष्ट रूमसहित होटल सञ्चालनमा आउनेछ । केही समयभित्र कुल ३२ रूम हुने क्षेत्रीले जानकारी दिए ।

होटलका लागि आवश्यक पर्ने अन्य भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । भवन निर्माणका लागि थप लगानी आवश्यक भएको क्षेत्रीले बताए । होटलको सम्पूर्ण भौतिक पूर्वाधार निर्माणसहित अन्य संरचना तयार गर्न कुल १० करोड रुपैयाँ लगानी हुने उनले जानकारी दिए । आगामी ६ महीनाभित्र होटलको सम्पूर्ण भौतिक संरचना तयार भइसक्ने उनको भनाइ छ । तयार भएको आधा भौतिक संरचनाबाटै तत्काल होटल सञ्चालन गरिने क्षेत्रीले जानकारी दिए । होटलमा १५ जनाले रोजगारी पाउने उनले जानकारी दिए ।

‘होटलमा अर्गानिक तरकारीको व्यवस्था गरिनेछ,’ क्षेत्रीले भने, ‘हामीले दाङमा होटल व्यवसायमा नयाँ कल्चर खोजेका छौं ।’ होटलमा आउने पर्यटकलाई जिल्लाका पर्यटकीय गन्तव्य स्थलबारे जानकारी दिनुका साथै त्यहाँ पुर्‍याउने व्यवस्थासमेत गरिनेछ । होटलले पर्यटकका लागि दुईओटा गाडीसमेत खरीद गरिसकेको छ । होटलमा विशेष गरेर नेपाली, चाइनिज, इण्डियन र साउथ इण्डियन खानाको व्यवस्था गरिनेछ । होटलमा दुई÷दुई सय जना अट्ने दुईओटा सेमिनार हलसमेत रहेका छन् ।

होटलको सुरक्षाका लागि चारैतर्फ सीसी क्यामरा जडान गरिएको छ । ‘पर्यटक तथा होटलका आगन्तुकको सुरक्षाका लागि सुरक्षा गार्डको व्यवस्था गरेका छौं,’ क्षेत्रीले भने । होटलमा दुई दर्जनभन्दा बढी गाडी अट्ने पार्किङ रहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष खड्ग बुढाथोकीले दाङमा पछिल्लो समय ठूला होटलमा लगानी बढिरहेको बताए । दाङमा तीव्र शहरीकरण भइरहेकाले गुणस्तरीय होटलको आवश्यकता रहेको उनले जानकारी दिए । ‘दाङ अहिले पश्चिम नेपालकै आर्थिक केन्द्र  बनिरहेको छ,’ बुढाथोकीले भने, ‘पर्यटक प्रवद्र्धनका लागि होटलको भूमिका महत्त्वपूर्ण हुन्छ ।’ दाङ तथा यस आसपासका पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारमा ध्यान दिन सके दाङमा धेरै होटलको सम्भावना रहेको उनको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्