काठमाडौँ, ६ भदौ । पूर्वप्रहरी परिवार मञ्चले गोकर्णेश्वरमा रहेको मेरुदण्ड पक्षघात समूहलाई रु दुई लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।
मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि उक्त सहयोग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई संयुक्तरुपमा मङ्गलबार हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा महानिरीक्षक खनालले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्धति सिकाइ एवं आवास सञ्चालनलाई यस्ता आर्थिक सहयोगले हौसला मिल्ने भन्दै यस्ता सामाजिक गतिविधिका पूर्वप्रहरीले गरेको योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको हित एवं उनीहरुको भविश्य उज्ज्वल बनाउन आउँदा दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख नेपालले बौद्धिक, शारीरिक र मेरुदण्ड पक्षघातबाट अशक्त तथा बिरामी भएकालाई नगरपालिकाले पनि सहयोग गर्दै जाने बताउनुभयो । नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्ने उहाँको भनाइ थियो ।
मञ्चका सल्लाहकार श्रेष्ठले मञ्चले विभिन्न परोपकारी कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै यस सहयोगले विद्यार्थीको भविश्य उज्ज्वल बनाउन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
विसं २०७२ मा स्थापना भएको समूहले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्धति, सिकाइ एवं आवास सञ्चालन र अपाङ्गता अधिकारसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । हाल समूहमा ११ विद्यार्थी रहेका छन् ।
–––

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।