कस्ता मान्छेले सजिलै जागिरी पाउँछन ?



राम्रो काम पाउन तपाईंले छनोट प्रक्रियाका थुप्रै चरणहरू चर्काे प्रतिस्पर्धामाझ पार गर्नुपर्ने हुन्छ । छनोटमा पर्न योग्यता भएर मात्र पुग्दैन । रोजगारदाताको दृष्टिमा तपाईं सबैभन्दा उत्कृष्ट उम्मेदवार पनि ठहरिनुपर्छ । धेरैजसो व्यक्तिको ध्यान आफ्नै आवश्यकतामा केन्द्रित हुन्छ अनि उसले सम्भाव्य रोजगारदातालाई ती आवश्यकता परिपूर्ति गर्ने एउटा माध्यमको रूपमा हेरेको हुन्छ । यस्तोमा तपाईंले आफ्नो योग्यतालाई भन्दा पनि आवश्यकतालाई प्रस्तुत गर्ने सम्भावना रहन्छ । त्यसैले, तपाईंले आफ्नोे योग्यताको वर्णन गर्न प्रयोग गरेको भाषामा रोजगारदाताको भाषा प्रतिविम्बित हुनुपर्छ । उम्मेदवारको प्राविधिक क्षमता, नेतृत्व क्षमता, विनम्रता, स्पष्टता जस्ता योग्यता नै रोजगारदाताको भाषा हो । रोजगारदाताले सम्भावित कामदारमा यिनै गुण खोज्ने गर्छन् । तपाईंले रोजगारदातालाई बताउनुपर्ने मुख्य योग्यताबारे यहाँ चर्चा गरिएको छ :

काम गर्ने प्राविधिक क्षमता
तपाईंमा कामसँग सम्बन्धित सबै खालका प्राविधिक क्षमता भए मात्र कामको प्रभावकारिता र उत्पादनशीलता बढ्ने भएकाले त्यस्तो शीपको प्रदर्शन गर्न सक्नुपर्छ । तपाईंले हासिल गरेका उपलब्धि र कामको अनुभवले नै यस्तो योग्यताको पहिचान दिन सक्छ ।

सामान्य संज्ञानात्मक क्षमता
कुनै पनि रोजगारदाता तपाईं कति राम्रो र छिटोसँग नयाँ कुरा सिक्न सक्नुहुन्छ भन्ने जान्न चाहन्छन् । त्यसैले, तपाईंले आफूमा नयाँ कुरा सजिलै सिक्ने गुण रहेको बताउन सक्नुपर्छ ।

आवश्यक नेतृत्व क्षमता
रोजगारदाताले तपाईंले समूह वा सङ्गठनमा गर्न सक्ने योगदानको अनुमान गर्न सके मात्रै तपाईंलाई मन पराएर ‘हायर’ गर्न सक्छन् । त्यसैले, तपाईंले आफूमा आवश्यकता पर्दा टीमकै नेतृत्व लिन सक्ने तत्परता र क्षमता भएको व्यक्तिको रूपमा परिचय गराउन सक्नुपर्छ ।

विनम्रता
सङ्गठनलाई अगाडि बढाइरहन विनम्रताको धेरै महत्त्व रहन्छ । साथै, जो अरूको विचार र ज्ञानलाई अँगाल्न आफ्नोे कदमलाई सहजै पछाडि हटाउन हिच्किचाउँदैनन्, उनीहरूमा नै सच्चा विनम्रता हुन्छ । त्यसैले, तपाईंको प्रस्तुति आडम्बरयुक्त होइन, विनयी हुनुपर्छ ।

स्वामित्व
अफिसमा भौतिक रूपमा उपस्थित हुनेमात्र होइन, कम्पनीप्रति प्रतिबद्ध हुने र तात्कालीन समस्यालाई समाधान दिने तत्परता तपाईंमा छ भने तपाईं एक उत्कृष्ट उम्मेदवार हुनुहुनेछ । कामप्रति उत्तरदायी कर्मचारीलाई नै रोजगारदाताले मन पराउँछन् ।

यदि तपाईंमा उल्लिखत योग्यता छन् र तपाईंले ती योग्यतालाई आफ्नोे बायोडाटा, आवरणपत्र, रोजगारदातासँगको भेट तथा अन्तरवार्तामार्फत प्रस्तुत गर्न सक्नुभयो भने तपाईंले पक्कै पनि आकर्षक रोजगारी पाउन सक्नुहुन्छ ।

साभार ःww.abhiyan.com.np

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्