फिचर

घरघरै पानी धारा भएपछि गाउँलेहरुमा खुशियाली

By थाहा अनलाइन

July 17, 2017

सैघाली खवर

गोरखा, २ साउन । गाउँबाट पाँच किमी टाढा रहेको मुल २०७२ सालमा आएको भूकम्पका कारण सुकेपछि शहिद लखन गाउँपालिका वडा नं. २ फिनौदीका गाउँलेहरु पानीका लागि अन्य गाउँमा धाउनुपर्ने बाध्यता थियो । नेपाल रेडक्रस सोसाईटी भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत गाउँमा योजना परेपछि यतिबेला गाउँका प्रत्येक घरका धारामा पानी आउन थालेको स्थानीय कल्पना बयलकोटीले बताउनुभयो ।

आइतबार एक कार्यक्रमका वीच पातीस्वाँरा फिनाम्दी खानेपानी योजना हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा शहिद लखन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष अचल थापा, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाका सभापति भगवानबाबु मास्के, उपसभापति मोहन ढकाल, मन्त्री राजेन्द्र न्यौपाने, कोषाध्यक्ष रामशरण आचार्य, भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक शिव प्रसाद सुवेदी स्थानीय उपभोक्ताहरु, प्राविधिक, स्थानीय नेताहरु लगायतको उपस्थितिमा योजना हस्तान्तरण गरिएको हो ।  कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले रेडक्रसले गरेको काम मनकामनामा नमुना योग्य भएको बताउनुभयो ।

विपन्न परिवारहरुका लागि शौचालय, रछ्यान, संकटाभिमुख परिवारका लागि जीविकोपार्जनका कार्यक्रमहरु समेत गरिने उहाँले बताउनुभयो । सम्पन्न भएका योजनाहरुको संरक्षणमा उपभोक्ताहरुले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।  योजनाका अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पानीको मूल दान गर्ने मुलदाता पदम बहादुर थापा, नेपाली काँग्रेसका नेता हिरा बहादुर थापा, एमाले नेता मनोज जोशी लगायतले मन्तव्य राख्नु भएको थियो । २०५० सालमा निर्माण भएको पानीको मुहान सुकेपछि नयाँ मुहान खोजेर पाँच किलोमिटर पाइप लाईन र नयाँ ट्याङ्की निर्माण गरिएको प्राविधिक विश्वराज थापाले बताउनुभयो  ।