जिल्ला अस्पताल सल्यानको ५० शैय्याको भवन शिलान्यास



मिना बुढाथोकी

सल्यान, १३ भदौ । जिल्ला अस्पताल सल्यानमा बन्दै गरेको नयाँ अस्पताल भवनको बुधबार शिलान्यास गरिएको छ । बुधवार शारदा नगरपालिकाका निमित्त नगर प्रमुख दिपक हमालले भवनको शिलान्यास गरेका हुन् ।

करिब डेढ करोडको लागतमा जिल्ला अस्पताल सल्यानमा नयाँ भवन निर्माण कार्य शुरु गरिएको छ । जिल्लाको सदरमुकाम खलंगामा रहेको अस्पताललाई शारदा नगरपालिका सल्यानले १ करोड ४१ लाख ६९ हजार ४ सय ७६ रुपैयाँको लागतमा भवन निर्माण गर्ने गरि जिम्मा दिएको निमित्त नगर प्रमुख हमालले बताए ।

शारदा नगरपालिका भित्रका सेवाग्राहीलाई मात्रै नभई जिल्लाका विभिन्न स्थानबाट आउने बिरामीहरुलाई जिल्लाभित्रै सम्पूर्ण सेवा दिनुपर्ने आवश्यकता महसुस गरि अस्पताललाई सुविधा सम्पन्न बनाउन लागि परेको हमालले बताए ।

शारदा नगरपालिकाका प्रवक्ता समेत रहेका हमालले यस अस्पतालमा आउने जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुका लागि अस्पतालमा सबै सुविधा निःशुुल्क गर्ने निर्णय भए अनुसार यहाँबाट दिइने सेवा पनि प्रभावकारी हुनुपर्ने भएकाले नगरपालिकाले हर सम्भव सहयोग गर्ने बताए ।

तीन तलाको बन्न लागेको भवनमा सबै भन्दा तल्लो तलामा ओपीडी वार्ड, दोस्रो तलामा बिरामी भर्ना गर्ने ठाउँ र तेस्रो तलामा तालिम हल र क्वार्टरको रुपमा प्रयोग गरिने गरि भवनको डिजाईन गरेको नगर स्वास्थ्य प्रमुख रबिन विष्टले बताए ।

जिल्लाको एक मात्र सरकारी अस्पताललाई ५० शैय्याको पु¥याउने र सुविधायुक्त अस्पताल बनाउने उदेश्यका साथ शारदा नगरपालिकाले नयाँ भवन निर्माण कार्य शुरु गरिएको नगर स्वास्थ्य प्रमुख बिस्टले बताए ।

‘भवन निर्माण पछि यहाँ आउने सेवाग्राहीलाई धेरै सहज हुनेछ’, उनले भने, अहिलेको जस्तो बिरामीको चाप भएको बेला कहाँ राख्ने भन्ने चिन्ताबाट अस्पताललाई पनि छुटकारा मिल्ने अपेक्षा सहित भवन निर्माणका लागी रकम विनियोजन गर्न लगाइएको हो ।’

अहिले यस जिल्ला अस्पतालमा आएका बिरामीलाई कमै मात्रामा बाहिर रेफर गर्ने गरेको बताउदै उनले अहिले यहाँबाट बाहिर रेफर गर्नु भन्दा पनि अन्य जिल्लाबाट यहाँ बिरामी सेवा लिन आउने गरेको बताए । ‘यस अस्पतालमा जिल्ला भित्रका मात्र नभई छिमेकी जिल्ला रुकुम, रोल्पाको केही भागबाट बिरामी आउने गरेका छन्’, उनले भने ।

नगरपालिकाले अस्पतालको सेवा प्रभावकारी बनाउन आवश्यक पर्ने सिआर प्रविधी, बढी क्षमताको जेनेरेटर, टिआरआर टेस्ट मेसिन, रक्तदानका लागि आवश्यक मेसिन लगायतका सामाग्री यस अघिनै अस्पताललाई हस्तान्तरण गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्