बिमस्टेककाे चौथो सम्मेलन आजदेखि



काठमाण्डौ १४ भदौ ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ । बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको छ ।

सम्मेलनमा सहभागी हुन सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार आइपुगेका छन् । म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबारै आएका छन् । बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ आउँदै छन् ।

यस्तो छ सम्मेलनको कार्यतालिका
परराष्ट्र मन्त्रालयको कार्यक्रम–तालिकाअनुसार प्रधानमन्त्री ओलीले उद्घाटनसँगै २२ मिनेट मन्तव्य दिनेछन् । त्यसपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चा १५–१५ मिनेट सम्बोधन गर्नेछन् ।

बिहीबार पौने ६ बजे पहिलो औपचारिक कार्यक्रम सम्पन्न हुनेछ । बिहीबार साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीले आयोजना गर्ने रात्रिभोजमा सदस्य–मुलुकका कार्यकारी प्रमुख सहभागी हुनेछन् । शुक्रबार बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकारप्रमुख एवं राष्ट्रप्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन् ।

शुक्रबार ११ बजे बिमस्टेकको दोस्रो सत्र सुरु हुनेछ । प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीपत्रबारे जानकारी दिनेछन् । सम्मेलनको अन्तिम दिन बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत ग्रिड कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यसैगरी ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकवाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुनेछ । त्यसपछि बिमस्टेक घोषणापत्र जारी हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्