आर्थिक

बिमस्टेक सार्कको विकल्प होइन प्रधानमन्त्री

By थाहा अनलाइन

August 31, 2018

काठमाण्डौ १५ भदौ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको बताएका छन् ।

प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उदघाटन गर्दैै ओलीले बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताएका हुन् ।

नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र बिमस्टेक एक अर्काको विकल्प होइन आपसमा पूरक हुन्’, उनले भने, ‘हामी बीबीआईएनमार्फत उपक्षेत्रीय साझेदारीलाई पनि सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

सम्मेलनको अध्यक्षतासमेत गरिरहेका ओलीले भने ‘बिमस्टेकले केवल हाम्रा देशहरूलाई मात्र जोड्दैन, यसले दक्षिण एसिया र दक्षिण-पूर्वी एसियालाई पनि गाँस्छ ।’ बिमस्टेकले महासागरहरूका साथै पहाडहरू जोड्ने र पारिस्थितिकीय परस्पर निर्भरतालाई बलियो बनाउने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो माध्यम बुद्ध धर्म पनि रहेको बताए । उनले यस क्षेत्रका देशलाई एक आपसमा जोड्न र पर्यटन विकासका लागि बुद्धिष्ट सर्किट महत्वपूर्ण रहेको धारणा पनि राखे ।

बिमस्टेक सदस्य राष्ट्रहरुको क्षमता साकार पार्न सबैभन्दा पहिला नागरिकहरूलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा उनको जोड थियो । चरम गरिबीले दुष्चक्रतिर डोर्‍याउने मात्रै होइन अमानवीय, अन्यायपूर्ण र घातक रहेको ओलीको निश्कर्ष थियो । बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा उनको जोड थियो ।