निर्मला हत्या प्रकरण- यस्तो छ रोशनीको बयान, अनिताको बयान लिन बाँकी



भदौ १५, महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानका लागि हिरासतमा रहेका बम दिदीबहिनीलाई थुनामा राखेर अनुसन्धान गर्न थप ७ दिन म्याद थपिएको छ ।

यो खबर विष्णुप्रसाद देवकोटाले अन्नपुर्ण पोष्टमा लेखेका छन् । जिल्ला अदालतमा बिहीबार उपस्थित गराइएका दिदीबहिनीलाई ७ दिन थुनामा राखेर थप अनुसन्धान गर्न म्याद थप गरिएको अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

यसअघि भदौ ८ गतेदेखि लागू हुने गरी ६ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपिएको थियो । जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले ७ दिन थप थुनामा राखेर अनुसन्धान गर्न म्याद थपेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं अनुसन्धान अधिकृत कृष्णराज ओझाले अदालतबाट थप ७ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको बताए । ‘घटनाको गम्भीर रूपले अनुसन्धान भइरहेको छ’, उनले भने, ‘हाम्रो पूरै इफोर्ट लगाएर काम गरिरहेका छौं ।’ उनका अनुसार घटनासँग जोडिएका सबै विषयको गहन रूपले अध्ययन भइरहेको छ ।

प्रहरीले जिल्ला न्यायाधिवक्ताको प्रत्यक्ष समन्वयमा निर्मला बलात्कार र हत्याकाण्डको अनुसन्धान गरिरहेको छ । प्रहरीले हत्या आरोपमा प्रहरी थुनामा रहेका ४१ वर्षीय दिलीपसिंह विष्टको काठमाडौंमा स्वास्थ्य चेकजाँच भइरहेको छ । मानसिक स्वास्थ्य ठीक रहे/नरहेको र अन्य स्वास्थ्य अवस्था चेक गर्न उनलाई काठमाडौं लगिएको हो ।

यसअघि प्रहरीले बम दिदीबहिनीलाई थुनामा राखेर अनुसन्धान गरेको थिएन । शुक्रबारदेखि प्रहरीको नयाँ नेतृत्व हाजिर भएसँगै घटनाको प्रारम्भिक चरणबाटै अनुसन्धान थालेको हो ।

रोशनीले गरिन् आरोप इन्कार, अनिताको बयान लिन बाँकी

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरी थुनामा रहेकी उनकी साथी रोशनी बमले आरोप इन्कार गरेकी छन् ।

थुनामा राखेर थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्न लैजानुअघि जिल्ला सरकारी कार्यालयमा उनीसँग लिइएको बयानका क्रममा रोशनीले आरोप इन्कार गरेकी हुन् ।

सरकारी वकिल कार्यालयमा जिल्ला न्यायाधिवक्ता समेतको उपस्थितिमा उनको बयान लैजाँदा उनले आफू र दिदीमाथि लगाइएको सबै आरोप इन्कार गरेको स्रोतले जनाएको छ । तपाईंहरूमाथि त यस्तो आरोप लागेको छ नि ? भनी सोधिएको प्रश्नमा रोशनीले आफूहरूमाथि लागेका सबै आरोप इन्कार गर्दै घटनामा दुवै दिदीबहिनीको कुनै संलग्नता नरहेको बताएकी छन् । ‘निर्मला बिहान ११ बजेतिर आफ्नो घरमा आएको र दिउँसो सवा २ बजे घर गएँ भन्दै निस्केको हो’, रोशनीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

निर्मला र आफू घरको तल्लो तलाको कोठामा बसेर गृहकार्य गरेको र जाँदा अहिले घर निस्केँ, बेलुका भाँसी घर जान्छु भन्दै गएको उनले आफ्नो बयानमा उल्लेख गरेकी छन् ।

उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सबै कुरा गलत रहेको समेत बयानका क्रममा बताएकी छन् । ‘घरमा पुग्दा निर्मलाको हातमा कालो लागेको थियो, के भयो भनेर सोध्दा साइकलको चेन फुत्केपछि लगाउँदा यस्तो भएको भनी’ रोशनीले बयानमा उल्लेख गरेकी छन् ।

पक्राउ गरेको ७ दिनपछि प्रहरीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा रोशनीको बयान लिएको हो । यसअघि पक्राउ गरेर थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेपछि प्रहरी सोधपुछ गरेको थियो । हिरासतमा अनुसन्धान क्रममा प्रहरीले आफैंले आवश्यक सोधपुक्ष र बयान लिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्