साढे छ वर्षकी बालिकामाथि जबरजस्ती करणी



रोल्पा : रोल्पामा साढे ६ वर्षकी बालिकामाथि जबरजस्ती करणी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । रोल्पा नगरपालिका भित्रकै एक गाउँकी बालिकालाई नातेदार १५ वर्षीय किशोरले जबरजस्ती करणी गरेको अभिभावकले जाहेरीमा उल्लेख गरेका छन् । छोरीलाई जबरजस्ती करणी भएको भन्दै बालिकाकी परिवारले शुक्रबार बेलुका प्रहरीमा उजुरी गरेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिपक खड्काले जनाए ।

११ दिनअघि बालिकामाथि जबरजस्ती करणी भएको परिवारले जनाएका छन् । छोरी बिरामी भएपछि उपचारका लागि स्वास्थ्य संस्थामा लगेका थिए । बिरामी बालिकाको लक्षण र जाँचपड्ताल गर्दा स्वास्थ्यकर्मीले जवरजस्ती करणीको शंका गरेका हुन् । अभिभावकलाई एकपटक प्रहरीमा सम्पर्क गर्न स्वास्थ्यकर्मीले सुझाव दिएपछि परिवार प्रहरीमा पुगेका हुन् । बालिकालाई सोधपुछ गर्दा आमाकै भदै नातापर्ने किशोरले गलत व्यवहार गरेको अभिभावकलाई बताएकी छन् ।

आफुमाथि जबरजस्ती करणीको व्यवहार भएको भन्ने समेत थाहा नपाएकी अबोध बालिकाले शारीरिक पीडाबारे अभिभावसँग खुलाएकी थिइनन् । खाना नखाने, टोलाउने र ज्वरो आउने हुन थालेपछि अभिभावकले उपचारार्थ स्वास्थ्य संस्थामा लगेका थिए । स्वास्थ्यकर्मीले जबरजस्ती करणीको आशंका गरेपछि अभिभावक छांगाबाट खसेझैं भए ।

जिल्ला प्रहरी प्रमुख खड्का अनुसार आरोपित किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । ‘पीडित परिवारको जाहेरीका आधारमा किशोरलाई पक्राउ गरेर अनुसन्धान कार्य अघि वढाएका छौं ।’, प्रनाउ खड्का भन्छन्, ‘बालिकाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल पठाएका छौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्