सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन सकेन – महत



पूर्वपरराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले बिमस्टेकमा आएका केही पाहुनाहरूले आफ्नै देशका सुरक्षाकर्मी ल्याउनु दुःखद् भएको भन्दै उनले नेपाल सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन नसकेको बताएका छन्।

नेपालको सुरक्षा व्यवस्था सक्षम भए पनि सरकारले अन्तर्राष्ट्रिय रूपमा विश्वास दिलाउन नसकेको उनको जिकिर छ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको जिकिर गरेका हुन्।

यसका साथै, उनले बिमस्टेक राष्ट्रहरूले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन्। काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भए पनि यसबाट नेपालले फाइदा लिन नसकेको उनको आरोप छ।

बिमस्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाइदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको उनले बताए।

साक्षात्कारमा बोल्दै  महतले व्यापार, लगानी, पर्यटन र पारवहनको क्षेत्रमा बिमस्टेक राष्ट्रहरूले समन्वय गर्नुपर्नेमा जोड दिए।

उनले नेपालले बिमस्टेक राष्ट्रहरूसँग सहकार्य गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिए। ग्रिड कनेक्टिभिटीमा सम्झौता भए पनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको उनले गुनासो गरे।

बिमस्टेक राष्ट्रबीच रेलवे र सडकमार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महतको भनाइ छ।

‘म्यानमार–थाइल्याण्ड जोड्ने रेलवे र सडकमार्ग बन्ने हो भने बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनी ल्याउन सकिन्छ। पर्यटनसँग सम्बन्धित अरु धेरै कार्यक्रम गर्न सकिन्छ’,उनले भने।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्