किर्ते कागजात बनाई ७० करोड रूपैयाँ ठगी गर्नेहरु पक्राउ



काठमाडौँ, २१ भदौ । प्रहरीले किर्ते कागजात बनाई झण्डै ७० करोड बरबारको ठगी गर्ने १२ जनालाई पक्राउ गरको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि र सञ्चालक भारतीय नागरिक राम निरंजन जटियाको नक्कली कागजात बनाएर ठगी गर्ने कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा–४ घर भई हाल काठमाडौँ चन्द्रागिरी–८ बस्ने राजन प्रसाद लम्साल, काठमाडौँ चन्द्रागिरी–१४ का निरज कुमार मानन्धर, रामेछाप सुनापाती–१ का जीतबहादुर मगर छन् । लम्साल, मानन्धर र मगर मुख्य योजनाकार रहेको सीआईबीका प्रवक्ता एसपी सानुराम भट्टराईले जानकारी दिए ।

सीआईबीले मोरङ रतुवामाई नगरपालिका घर भई हाल काठमाडौँ पेस्पीकोला बस्ने पुण्यप्रसाद खरेल, काभ्रे चौबास–५ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने साईला भन्ने राज कुमार तामाङ, काठमाडौँ चन्द्रागिरी–१० का हिमाल महर्जन, सोही ठाउँका चिरीबाबु महर्जन, बारा निजगढ–१, घर भई हाल काठमाडौँ कलंकी बस्ने अमृत थापा मगरलाई पनि पक्राउ गरेको छ ।

कम्पनी रजिष्टारको कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायण प्रसाद पोखरेल र उमेशमान जोशी तथा कम्पनी रजिष्टारको कार्यालय आइटी शाखामा करारमा कार्यरत २ जना कर्मचारीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीहरुको विवरण प्रहरीले खुलाएको छैन । घटनामा संलग्न कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत अन्य २ जना हाल फरार रहेको एसपी भट्टराईले बताए ।

उनीहरुले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिका शेयरधनी, संचालक र कम्पनीको अध्यक्ष जित बहादुर मगर हो भनी कम्पनीको नाममा रहेको काठमाडौँ–४ बालुवाटार स्थित कित्ता नं. ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गा सहितको घर, सतुंगल वडा नं. ९ को कित्ता नं. १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोट जिल्लामा कम्पनीको नाममा रहेको जग्गा बेचबिखन गर्न बैना गरेका थिए ।

प्रहरीका अनुसार कम्पनीका एकमात्र शेयरधनी संचालक एवं अध्यक्ष जटियाको घरबाट कम्पनीको कागजात चोरी गरी उनकै घरमा १६ वर्ष देखि काम गर्दै आएका जित बहादुरले लम्साल र मानन्धरको सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी सम्पूर्ण शेयरहरू खरिद गरेको भनी कम्पनी रजिष्ट्रारको कार्यालयबाट नामसारी गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्