मेरो ल्हासा भ्रमणले विधेयक अलपत्र पर्दैनन् -सभामुख महरा



काठमाडौं : सभामुख कृष्णबहादुर महराले आफ्नो चीनको स्वसासित क्षेत्र ल्हासा भ्रमणले संसदको कुनैपनि गतिविधिमा बाधा नहुने बताएका छन्।

शुक्रबार भदौ २२ देखि २६ सम्म चीनको ल्हासा भ्रमणमा जान लागेका सभामुख महराले प्रतिनिधिसभामा कामको चाप नभएकाले आफू त्यता जान लागेको बताएका छन्। सभामुखको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले असोज ३ गतेभित्र बनाइसक्नुपर्ने मौलिक हक अन्तर्गतका सबै विधेयक असोज २ गतेभित्रै संसदबाट पास भइसक्ने बताएका छन्।

प्रतिनिधिसभा तर्फका विधेयकको वर्तमान अवस्थाबारे जानकारी दिँदै सभामुख महराले मौलिक हक अन्तर्गतका आवश्यक १० वटा विधेयकहरू आगामी अशोज २ गते भित्र नै संसदले पारित गर्ने बताए। कतिपय विधेयक समितिमा छलफलको अवस्थामा रहेका र केहीलाई बिहीबार नै प्रतिनिधिसभाले सम्बन्धित समितिमा पठाउने भन्दै उनले निर्धारित समयमै सबै विधेयक आउने दाबी गरेका हुन्।

उनले मौलिक हकसँग सम्बन्धित विधेयकहरूलाई प्राथमिकताका साथ एक हप्ता भित्र टुग्याउन समिति सभापतिहरूलाई निर्देशन दिइसकेको पनि जानकारी दिए।

मौलिक हक अन्तर्गतका विधेयक पास गर्नका लागि सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग संयुक्त रुपमा भेटेर कुरा राखेको बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा तीनवटै नेताले सहमतिमै मौलिक हक अन्तर्गतका विधेयक पास गर्ने प्रतिवद्धता जनाएको बताए। उनले शीर्ष नेताहरूसँगको भेटपछि मौलिक छलफल र सहमतिमै पास हुने विश्वास लागेको बताए। अहिले विवादमा रहेका विधेयकलाई सम्भव भएसम्म संशोधन गरेर पारित गर्ने र सम्भव नभए सरकारले पछि संशोधन प्रस्ताव पनि ल्याउन सक्ने सभामुख महराको भनाइ थियो।

ल्हासा भ्रमण: चीनको केन्द्रीय सरकार र ल्हासा स्वायत्त सरकारले संयुक्त रुपमा आयोजना गर्न लागेको चौथो टुरिजम एण्ड कल्चरल एक्स्पोमा सहभागी हुन सभामुख महरा शुक्रबार चीन जान लागेका छन्। उनले चीन भ्रमणबारे पनि जानकारी दिँदै भ्रमणले विधेयक निर्माण प्रक्रियामा असर नपर्ने बताएका थिए। चीन भ्रमणको क्रममा सभामुख महराले नेपालसँगको सीमा नाका तातोपानी र केरुङमा निर्माण हुने पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी,ल्हासामा रहेको नेपालको महावाणिज्यदूततावासको भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, सभामुख महरा ट्रान्स हिमालय वेल्ड एण्ड रोड इन्टरनेशनल फोरम कोअपरेसनमा पनि सहभागी हुने कार्यक्रम रहेको छ।

सभामुख महराको चीन भ्रमणले असोज ३ भित्र पास गरिसक्नुपर्ने विधेयक निर्माण कार्य अलपत्र पर्ने भनेर आएका कुराको जवाफ दिँदै महराले त्यस्तो नहुने बताए। उनले आफ्नो अनुपस्थितिमा उपसभामुखले पनि सदन सञ्चालन गर्न सक्ने बताए। उनले विधेयकहरूमाथि संसदीय समितिमा छलफलका लागि पठाइएकाले पनि त्यहाँ समय लाग्ने र जसका कारण विधेयक अलपत्र नपर्ने बताए।

सभामुख महराको नेतृत्वमा चीनमा आयोजना हुने मेलामा सहभागी हुन सांसदहरू शान्तिमाया तामाङ, रंगमति शाही, उमाशंकर अरगरिया, दुर्गा पौडेल जान लागेका छन्। त्यसैगरी भ्रमण टोलीमा संसद सचिवालयका कर्मचारीका साथै पत्रकारहरूसहित १० सदस्य रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्