टेर्दैनन् ठेकेदार, हेर्दैन सडक डिभिजन



समयमा पुल नबन्दा यात्रुलाई सास्ती

भुपेन्द्र वली
दाङ ४, साउन । वर्षातको मौसम शुरु भएसँगै लमही कृष्णसेन मार्ग (लमही–तुलसीपुर सडकखण्ड) मा यात्रा गर्ने यात्रुहरुको गन्तव्य अनिश्चित हुने क्रम यस वर्ष पनि दोहोरिएको छ ।
पानी पर्ने बित्तिकै उर्लिने खोलाका कारण घण्टौं यात्रुले सास्ती व्यहोर्नुपर्ने अवस्था छ । कुन खोलामा कतिबेला बाढी आउने हो, निश्चित हुँदैन । कहिलेकाँही त बाढीले गाडीसमेत बगाउने गरेको छ । ठूलो पानी पर्ने बित्तिकै खोला आसपासमा सवारी साधन, यात्रु, विद्यालय जान हिडेका विद्यार्थी घण्टौं खोलाको पानी कति बेला कम होला र गन्तव्य पुगिएला भनेर पर्खनुपर्ने अवस्था छ ।

तीन वर्षअघि ग्वारखोला र काला खोलाले बगाँउदा तीन जनाको ज्यान गएको थियो । केही दिनअघि मात्र ग्वारखोलाले दुईवटा यात्रुबाहक बस बगाएको थियो । यस्तो किसिमको सास्ती यो सडकखण्डमा यात्रा गर्ने यात्रुले वर्षेनी व्यहोर्दै आएका छन् ।

४ वर्षमा पनि बनेनन् पुल
लमही–तुलसीपुर सडक खण्डमा यात्रा गर्दा १० वटा साना ठूला खोला पार गर्नु पर्दछ । उक्त सडकखण्डको चौपट्टादेखि तुलसीपुरसम्म बबई, सिस्ने, कटुवा, सेवार, पत्रे, गुर्जे, हापुर, संक्राम, ग्वार र कालाखोला रहेका छन् ।
उच्च जोखिमयुक्त ५ खोलामा ४ वर्ष अघिदेखि पुल निर्माणको कार्य थालिए पनि ठेकेदार र सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माण कार्यले पूर्णता पाएको छैन । कटुवा र पत्रे खोलामा बन्न लागेका पक्की पुलको जिम्मा शंकरमाली निर्माण सेवाले लिएको छ । तर त्यहाँ हालसम्म पुल त के पिल्लरसम्म नि उठाइएको छैन ।
अन्य तीन बबई, गुर्जे र संक्राम खोलामा पिलरसम्म उठाइएको भए पनि कामको गति निक्कै सुस्त रहेको छ । बबई र गुर्जे खोला पुल निर्माणको जिम्मा बज्रगुरु निर्माण सेवा र संक्राम खोला पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले लिएका छन् ।

टेर्दैनन् ठेकेदार, हेर्दैन सडक डिभिजन
पुल निर्माण गतिलाई तिव्र बनाउन जिम्मेवार निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अटेरी गरेको नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तले बताए । ‘सम्झौताअनुसार पोहोर साल नै सबै खोलामा पुल बनिसक्नुपथ्र्यो । तर सडक डिभिजन र ठेकेदारको लापरबाहीले कामको गति निक्कै सुस्त छ’ उनले भने, ‘यहाँका नागरिक, यातायात व्यवसायीले पटक–पटक ध्यानाकर्षण गराँउदा पनि जिम्मेवार निकाय अटेरी गरेर बसेको छ ।’
यता सडक डिभिजन कार्यालयले भने पुल निर्माणको कार्यलाई तिव्रता दिन पटक–पटक पत्रमार्फत् ताकेता गरिएको जनाएको छ । यद्यपि ठेकेदारले भने अहिलेसम्म पत्रको जवाफ फर्काएका छैनन् । मध्यपश्चिम सडक डिभिजन कार्यालय नं. २ घोराहीका प्रमुख बद्रिप्रसाद शर्माले हेभी ईक्विपमेन्ट राखेर भए पनि पुल निर्माणको कार्यलाई ३ समयमा पुल नबन्दा यात्रुलाई सास्ती तिव्र बनाउन निर्देशन दिएको बताए ।

बर्षामा यात्रालाई सहज बनाउन पुल निर्माण नभए पनि विकल्पमा डाइभर्सन निर्माण गर्न ठेकेदारलाई निर्देशन दिइएको उनले बताए । ‘ पुल निर्माण भइनसके पनि डाइभर्सन बनाएर सवारी आवत जावत सहज बनाउन निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौं’ उनले भने, ‘यद्यपि खोलाको बाढीले बनेका डाइभर्सन पनि भत्काइदिदा झनै समस्या थपिएको छ ।

जे जस्तो भए पनि यात्रामा अवरोध हुन नदिने गरी काम गर्न भनेका छौं ।’ सम्झौता अनुसारको समयसीमामा पुल निर्माण नगर्ने ठेकेदारमाथि कारबाही गर्नुको साटो सडक डिभिजनले उल्टै म्याद थप गर्दै आएको छ । भारतले गरेको नाकाबन्दी, ढुङ्गा गिट्टीको अभावलगायतका कारणले गर्दा यसरी म्याद थप्नुपरेको र काममा ढिलाइ भएको सडक डिभिजन र निर्माण व्यवसायीले बताउँदै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्