हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याईयो



सैघाली खबर, २४ भदौ ।
नुवाकोटको म्यागङ गाउँपालिकामा शनिबार दुर्घटना भएको हेलिकप्टर हुँदा ज्यान गुमाउनेको शव आइतबार काठमाडौं ल्याईएको छ । शनिबार राति घटनास्थलबाट शव उद्धार गरी आइतबार बिहान मात्र त्रिशूली ल्याइएको थियो । त्रिशूलीमा ल्याएका ६ वटै शव तीन वटा हेलिकप्टरबाट काठमाडौं ल्याईएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । प्रतिकुल मौसमको कारण घटनास्थल नजिक हेलिकप्टर लैजान समस्या भएपछि त्रिशूलीसम्म ट्रकमा शव ल्याएर हेलिकप्टरमा काठमाडौं ल्याईएको हो ।

गोरखाको सामागाउँबाट काठमाडौंको लागि उडेको हेलिकप्टर शनिबार बिहान ८ बजे नुवाकोटको म्यागङ गाउँपालिका–१ बर्सुन्चेतको मैलुङ पाखाको भीरमा दुघर्टना हुँदा ६ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेकी एक महिलाको जिवितै उद्धार गरिएको थियो । कलसाइन ९ एन ए एलएस रहेको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा घाइते गोरखा चुमनुब्रि गाउँपालिका–२ कि ल्हो आनि डोल्मा डिकीलाई दुघर्टना भएको १० घण्टापछि उद्धार गरी काठमाडौं ल्याईएको थियो ।

दुर्घटनामा चालक निश्चल केसीसहित ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जापानी नागरिक समेत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वसन्तबहादुर कुँवरका अनुसार मृत्यु हुनेमा जापानी नागरिक हिरोमी कोमात्सु ९राहदानी नम्बर टिके ७१३६१२०६८०, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र पाइलट निश्चल केसी रहेका छन् ।

घना जंगलको बीचमा दुर्घटना भएको हेलिकप्टर भएकोसम्म पुग्न नै उद्धारटोलीलाई धेरै समय लागेको थियो । प्रहरीको अनुसार दिउँसो २ बजेमात्र प्रहरी र स्थानीयको टोली घटनास्थल पुगेको थियो । प्रतिकुल मौसमका कारण उद्धारको लागि राजधानीबाट गएको हेलिकप्टरसमेत ल्याण्ड हुन नसकेपछि उद्धारमा ढिलाई भएको थियो । दुर्घटनास्थलबाट हेलिकप्टर ल्याण्ड गर्न मिल्ने स्थान ३ घण्टाको पैदल दुरीमा भएकोले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्