बलियो सरकार बनेकोमा भारतीय नेतृत्व खुसी -प्रचण्ड



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बलियो सरकार बनेकोमा भारतीय नेतृत्व खुसी रहेको बताएका छन्।  भारतको चार दिने भ्रमण पूरा गरी आईतबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डले यस्तो बताएका हुन्।

उनले भारतसँग विगतमा गरिएको सहमति कार्यान्वयनका लागि आवश्यक वातावरण बनाउन आफूले गरेको भ्रमण सफल रहेको दाबी गरे। भारत बसाईका क्रममा प्रधानमन्त्री मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत उच्चस्तरीय राजनीतिक भेटवार्ता प्रचण्डले गरेका थिए। भेटमा भारतीय नेताहरुले नेपालको समृद्धि र विकास चाहेको आफू पाएको पनि अध्यक्ष प्रचण्डले बताए।

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले मन्त्रीपरिषद्का सदस्य हेरफेरको विषय प्रधानमन्त्री केपी ओलीले भने अनुसार नै हुने बताए। प्रधानमन्त्री ओलीले ‘मन्त्रीमण्डल हेरफेर नगर्ने’ भनि दिएको अभिव्यक्तिबारे संचारकर्मीहरुले जिज्ञासा राखेपछि उनले प्रधानमन्त्रीको भनाई अनुसार नै मन्त्रीमण्डल हेरफेरको विषय अघि बढने प्रतिक्रिया दिए।

अध्यक्ष प्रचण्डले वृद्ध भत्ता नबढाएकोमा जनगुनासो बढदै गएपछि आफूले त्यसलाई व्यवस्था गर्न पुरक बजेटको कुरा प्रधानमन्त्री ओलीसँगै उठाएको बताए। उनले संविधान, कानुन र राजनीतिक रुपमा पनि जनताको गुनासोलाई सम्बोधन गर्न सरकारले आवश्यक महसुस गरे पुरक बजेटमार्फत वृद्ध भत्ता बढाउने निर्णय लिन सक्ने पनि स्मरण गराए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्