हेलिकोप्टर दुर्घटना छानविन गर्न समिति गठन



सैघाली खबर, २५ भदौ ।

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ । आइतबार मन्त्रीस्तरको निर्णयबाट तीन सदस्य छानविन समिति गठन गरिएको हो । समितिको संयोजकमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

सदस्यहरुमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङ र समिट एयरका वरिष्ठ इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ छन् । मन्त्रालयका उपसचिव एवम् सहायक प्रवक्ता प्रकाश शर्मा ढकालले दुर्घटनाको सत्यतथ्य छानविन गरी यथाशिघ्र सुरक्षा सिफारिस सहितको प्रतिवेदन बुझाउन भनिएको जानकारी दिए ।

गोरखाको सामागाउँबाट काठमाडौं फर्किने क्रममा शनिबार अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको थियो भने एक जना आनी डोल्मा डिकीको जिवितै उद्धार गरिएको थियो । उनको ललितपुरको धापाखेलस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा पाइलट निश्चल केसीसहित रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोर्खाका छोवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ र जापानी नागरिक हिरोमी कोमात्सुको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्