आर्थिक

पारिश्रमिक बाफतको रकम कुलो निर्माणमा

By थाहा अनलाइन

September 11, 2018

दाङ, २६ भदौ । तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य अमर नेपाली‘माईकल’ले आफुले पाउने पारिश्रामिक बाफतको रकम कुलो निर्माणका लगाएका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोलाको रानीघाट सिंचाई कुलोको लागि आफ्नो पारिश्रमिक बाफतको उक्त रकम कुलो मर्मतका लागि लगाएका हुन ।

बर्षादले कुलो बगाएपछि लामो समय सम्म स्थानीय किसानहरु सिचाईबाट बञ्चित बनेका थिए ।कुलो भत्किदा त्यस क्षेत्रका ४० घरपरिवारको करिब ४० बिगाहा जग्गा सुख्खा भएपछि कार्यपालिका सदस्य माईकललाई उक्त समस्या समाधान गर्न अनुरोध गरेको एक दिनमै कुलो निर्माण गरिदिएको स्थानीय नबराज सुबेदीले जानकारी दिए ।

 

कार्यपालिका सदस्यले १० हजार भाडा तिरेर डोजर उपलब्ध गराउनुका साथै स्थानीय उपभोक्ताहरुसंगै कुलो मर्मतमा खटिएका थिए । उनले जोडर सहयोग गर्नुका साथै उपभोक्ताहरुलाई उत्प्रेरणा दिएपछि सोमबार कुलो निर्माण भएको थियो । कुलो निर्माण भएपछि सोमबार देखिनै स्थानीय उपभोक्ताले धानमा सिंचाई गर्न पाएका छन् ।

धान पसाउने बेलामा कुलो भत्किदा स्थानीय किसानहरु चिन्तित बनेका थिए । ‘धान पसाउने बेलै भएको बेला बाढीले कुलो बिगार्दियो’ स्थानीय किसान लिलाराम भण्डारीले भने‘ पसाउने बेला नै पानी नपाएको भए, धान उत्पादनमा धेरै गिरावट आउथ्यो, तर कुलो निर्माण भएपछि भने हामी खुसी भएका छौं ।’ आफु जनताको काम गर्न कार्यपालिका सदस्यमा निर्वाचित भएको भन्दै जनताकै दुःख, सुखमा काम गर्ने बताए ।