अपराध

निर्माला पन्तका बुवाआमा न्याय माग्दै काठमाडौमा, न्याय नपाएसम्म घर नफर्कने

By थाहा अनलाइन

September 13, 2018

काठमाडौ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवाआमा लामो समयसम्म न्याय नपाएको भन्दै न्यायको माग गर्न राजधानी काठमाडौमा आइपुगेका छन् । प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न दलका नेतालाई भेटेर न्यायको माग गर्ने उनीहरूले बताएका छन्। तीन दिनसम्मको बाटोको जाम खेपेर बुधवार बिहानमात्रै राजधानी आएका निर्मलाका बुवाआमासँगै महेन्द्रनगरका नौजना महिला अधिकारकर्मी पनि आएका छन्।

राजधानी आउनुको कारणबारे निर्मालाकी आमा दुर्गादेवी पन्तले भनिन्, ‘झण्डै दुई महिना पुग्न लाग्दासम्म न्याय पाउँछौँ कि भन्ने आशामा महेन्द्रनगरमै बस्यौँ। तर न्याय नपाउने अवस्था आएपछि सरकारका ठूला मान्छेलाई भेट्न काठमाडौ आयौँ। छोरीको हत्यासम्बन्धी अनुसन्धानमा प्रहरीले शुरूदेखि नै लापरबाही गरेको दुर्गादेवीको आरोप छ।

छोरी हराएको सूचना दिए लगत्तै खोजीमा चासो नदिएको, प्रमाणहरूलाई नष्ट गरेको र अनुसन्धानको दायरामा ल्याउनुपर्ने व्यक्तिलाई नल्याएको उनको भनाइ छ। दुर्गादेवीले भनिन्, सबै तीजमा रमाउँदैछन्, हामी न्यायका लागि हारगुहार गर्दैछौँ। अब न्याय नपाएसम्म महेन्द्रनगर फर्किँदैनौँ। अनुसन्धानका क्रममा पक्राउ गरिएका दुई महिलासहित तीनजना नै रिहा भइसकेका छन्। छिट्टै प्रतिवेदन सार्वजनिक गर्छौँ भनेर आएका छानबिन समितिका सदस्यले राजीनामा दिनुले अझै आशङ्का बढाएको निर्मलाका बुबा यज्ञराज पन्तले बताए। उनले भने,प्रधानमन्त्रीलाई भेटेर भन्छु कि हामीलाई नेपाली होइनौँ भनिदिनुपर्‍यो, होइन भने न्याय दिनुपर्‍यो। प्रधानमन्त्रीले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिले मन दुःखेको पनि उनले बताए। भेट्नुपर्ने कसैलाई पनि नछोडी भेट्छौँ, तर न्याय नपाइ फर्किँदैनौँ।