संघीयता असफल बनाउने चलखेल सुरु –मन्त्री पुन



रोल्पा, भदौ ३० । सिचाई तथा उर्जामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले संघीयताको नयाँ प्रयोगमा भएकाले संवेदनशील भएर कार्य गर्नुपर्ने बताउनुभएको छ । रोल्पाका स्थानीय तह, विषयगत कार्यालय र विभिन्न निकायहरुको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले सो कुरा बताउनुभएको हो ।

संघीयतालाई सफल बनाउन नदिने केही तत्वहरु पनि भएकाले संघीयता कार्यान्वयनमा सचेत रहन आग्रह गर्दा मन्त्री पुनले जनताको स्वीकार्य अनुसार कार्य गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । उहाँले आधारभूत शिक्षा अनिवार्य र माविसम्मको शिक्षा निःशुल्कको व्यवस्था सरकारको कर्तव्यमा रहेको बताउँदै रोल्पाका केही स्थानीय तहले नमूना कार्य समेत गरेको बताउनुभयो ।

कार्यक्रमका प्रदेश नं. ५ का कानुन तथा आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र राजधानी सबैको पायक पर्ने स्वीकार्य हुने गरी छलफल सुरु भएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सरकारी कार्यालय प्रमुख, गैरसरकारी संंस्थाका प्रनिधिनि, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

शनिबार र आइतबार गरी दुई दिने चल्ने सो कार्यक्रममा जिल्लाको विकासका लागि संघ र प्रदेश सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा समेत छलफल हुनेछ । कार्यक्रममा १० वटै स्थानीय तह, विषयगत कार्यालय र गैरसरकारी संस्थाका प्रमुख, प्रतिनिधिहरुले आफ्नो प्रस्तुती गरेका थिए, भने सहजीकरण निमित्त जिल्ला समन्वय अधिकारी डम्वर सुनुवारले गर्नुभएको थियो । कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रदेश सभा सदस्य दीपेन्द्र पुनलगायतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्