अपराध

गाडिएको शव दुई दिनपछि प्रहरीले निकाल्यो

By थाहा अनलाइन

September 16, 2018

खोटाङ – खोटाङमा गाडिएको शव दुई दिनपछि प्रहरीले उत्खनन् गरेको छ । अस्वभाविक मृत्यु भएको जानकारी आएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा खमारेका ४५ वर्षीय भीमबहादुर राईको शव प्रहरीले दुई दिनपछि निकालेको हो ।

भदौ २८ गते कालगतिले मृत्यु भएको भन्दै सोही दिन सदगद गरिएको राईको शव विष सेवनबाट मृत्यु भएको जानकारी आएपछि पोष्टमार्टमका लागि निकालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताउनुभयो ।

शनिबार साँझ निकालिएको शव पोष्टमार्टमका लागि ट्याक्टरमा हालेर जिल्ला अस्पताल ल्याइँदैछ । दाजुभाईले कालगतीले मृत्यु भएको बताए पनि छिमेकीले विष सेवनबाट राईको मृत्यु भएको भन्दै खबर गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धानका लागि सुरुमा प्रहरी चौकी र त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएका डीएसपी केसीले बताउनुभयो ।