प्रतिनिधिसभाले पारित गर्‍यो मौलिक हकसम्बन्धी १५ विधेयक



काठमाडौं : प्रतिनिधिसभा बैठकले संविधानले व्यवस्था गरेअनुसारका मौलिक हकसम्बन्धी १५ विधेयक पारित गरिसकेको छ। जसमा दुई विधेयक आइतबार मात्रै पारित भएका हुन्।

आइतबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेका दुवै विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो। मन्त्री ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ लाई सदनसमक्ष प्रस्तुत गरेका थिए।

विधेयक पारित गर्नुअघि सांसदद्वय सञ्जयकुमार गौतम र गगनकुमार थापाले बालबालिकासम्बन्धी विधेयक, २०७५ मा बालबालिका आयोग गठन, बालबालिका संरक्षण मापदण्डलगायत विषय छुट भएको जनाउँदै सच्याउन माग गरेका थिए। सांसद प्रेम सुवालले मौलिक अधिकार कार्यान्वयन गर्न आएका विधेयक कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेका थिए।

सांसद राजनकुमार केसी, पुष्पा भुसाल र अञ्जना शिसङ्खेले बालबालिका विधेयकमाथिको छलफलमा भाग लिएका थिए। यी दुई विधेयकसँगै प्रतिनिधिसभाले मौलिक हकसम्बन्धी १५ विधेयक पारित गरिसकेको छ। संविधानमा व्यवस्था गरिएका मौलिक हकसम्बन्धी विधेयकहरूलाई असोज २ गतेसम्म पारित गरिसक्नुपर्ने समय सीमा रहेको छ।

 

जसमा वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन विधेयक २०७५, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ र सामाजिक सुरक्षा विधेयक २०७५ छन्।

यसैगरी, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक २०७५, जनस्वास्थ्य विधेयक २०७५, रोजगारीको हकसम्बन्धी विधेयक २०७५, उपभोक्ता संरक्षण विधेयक २०७५, खाद्य अधिकारसम्बन्धी विधेयक २०७५, आवासको अधिकारसम्बन्धी विधेयक २०७५ र भूमिसम्बन्धी सातौँ संशोधन विधेयक २०७५, अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक २०७५ र वातावरण संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ लगायत छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्