दाङ । थारु समुदायको बसोबास रहेक जिल्लाहरुमा आइतवार धुमधामका साथ अट्वारी पर्व मनाइएको छ । पश्चिम नेपालका दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाएका छन् ।
मुख्यगरि थारु समुदायका पुरुषहरुले महिला दिदी वहिनीको सम्मान र रक्षाका लागि यो ब्रत वस्ने चलन गरेको छ । अट्वारी पर्व तिज पछि आउने आइतवारका दिन मनाउने प्रचलन थारु समुदायमा रहेको छ ।
किंम्वदन्ती अनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसंग समेत जोडेर यो पर्वलाई मनाउने गरिएको छ । थारु राजा र पाच पाण्डवको सम्बन्धको स्मरणमा यो पर्व मनाइने गरेको थारु अगुवा एवं शिक्षक कुलविर चौधरी वताउछन ।
अट्वारीमा शनिवार साँझ दर खाएका थारु समुदायले अर्काे दिन दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्छन । थारु समुदायको प्रमुख पर्व मध्येको यो पर्वमा घरका छुट्टै कोठामा लिपपोत गरेर काठलाई काठ मै घोटेर वालेको आगो अर्थात अगेरीवाट चोखो रुपमा अनदीको रोटी, खुर्मा लगायतका परिकार पकाएर अट्वारी पूजा गर्ने चलन छ ।
अट्वारीमा रोटी काँक्रा, दही, केरा, अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, र अन्य परिकार आफ्ना चेलीबेटीलाई काशेली अग्रासन दिन जाने चलन रहेको स्थानिय छुन्की चौधरी वताउछिन ।
पछिल्लो समय युवा पुस्ता संस्कृति र परम्परावाट टाढा हुँदै गएकाले केही वर्ष पछि अट्वारी पर्वको महत्व कम हुदै लोप हुनेमा उनको शंका छ ।
- रोशनमान श्रेष्ठ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।