सैघाली खबर, १ असोज ।
युएईमा जारी एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै टेष्ट नेशन राष्ट्र पाकिस्तानले विजयी सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले २३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानको जितमा इमाम उल हकले अविजित ५० रनको अर्धशतकीय पारी खेले । उनले ६९ बलमा ३ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । बाबर आजमले ३३ र फकर जमानले २४ रन बनाए । पाकिस्तानविरुद्ध हङकङका इसान खानले २ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३७.१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाउन सक्यो ।
सुरुवाती समयमै एकपछि अर्को विकेट गुमाएको हङकङले बलियो टिम पाकिस्तानविरुद्ध राम्रो रन बनाउन सकेन । हङकङका लागि अजिज खानले २७, किनचिट साहले २६ तथा कप्तान अन्सुमान रथले १९ रन बनाए । हङकङलाई सस्तैमा समेट्न पाकिस्तानका उस्मान खानले ३ तथा हसन अली र शहदाब खानले २-२ विकेट लिए ।
एसिया कपमा आज अफगानिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंका आफ्नो पहिलो खेलमा नै बंगलादेशसँग १३७ रनको भारी अन्तरले पराजित भएको थियो । यता, अफगानिस्तानको भने यो पहिलो खेल हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।