संसदीय समितिको निर्वाचन आउँदो शुक्रबार



काठमाडौं, १ असोज । प्रतिनिधिसभा अन्तर्गतका समितिको सभापति चयनका लागि आउँदो शुक्रबार निर्वाचन हुने भएको छ । यसअघि अनिश्चितकालका लागि स्थगित निर्वाचन प्रक्रिया शुक्रबार गरिने भएको हो ।

प्रतिनिधिसभाको सोमवार बस्ने बैठकमा सभापति निर्वाचनको मिति घोषणाको तयारी रहेको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिएका छन् ।

संसदीय समितिको सभापतिको भागवण्डा नमिल्दा सभापति चयन हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक चौथाइ समितिको सभापति दाबी गरेका कारण सहमति हुन सकेको छैन ।

दलहरुबीच समितिको भागवण्डामा अझै सहमति भएको छैन । राष्ट्रिय सभामा नेपाली कांग्रेसले एउटा समितिको सभापति पाएको थियो । सभापति चयन हुन नसक्दा जेष्ठ सदस्यले समितिको सभापतित्व गरिरहेका छन् ।

प्रतिनिधि सभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति गरी १० वटा विषयगत समिति छन् ।

प्रमुख सत्तारुढ दल नेकपाले सार्वजनिक लेखा समिति मात्र नेपाली कांग्रेसलाई दिन सकिने बताएको छ । संसदको सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिने संसदीय परंपरा रहेको छ । यसअघि भदौ १७ का लागि तय गरिएको सभापतिको निर्वाचन तालिका भदौ १५ गते स्थगित गरिएको थियो ।त्यसअघि भदौ ५ गते हुने भनिएको समिति सभापतिको निर्वाचन भदौ १७ गते सम्मका लागि स्थगित भएको थियो । प्रतिनिधि सभाको साउन १७ गते बसेको बैठकले समितिमा रहने सदस्यको नाम टुंगो लगाएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्