अदालत सरकारविरुद्ध प्रयोग भयो -सांसद भुसाल



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले नेपालका न्यायालयहरूले परिवर्तन स्वीकार गर्न नसकेको भन्दै आपत्ती जनाएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सुन काण्डमा एकपछि अर्को अभियुक्तलाई छोडेर सुशासन स्थापना गर्नमा अप्ठेरो सिर्जना गरेको बताएकी हुन्। उनले अदालत परिवर्तनको विरोधमा प्रयोग भएको भनेर पनि आरोप लगाएकी छन्।

उनले सरकारले काम गर्दै जाने र र न्यायपालिकाले उल्ट्याउँदै गर्ने भइरहेकोमा आपत्ति जनाइन्। ‘सुन काण्डमा जेलमा रहेका व्यक्तिहरूलाई सामान्य तारेख र न्यूनतम धरौटीमा छोड्दैछ।

यस्तै गर्ने हो भने सुशासन दिन गाह्रो हुन्छ’,  उनले भनिन्। उच्च अदालत विराटनगरले सुन काण्डमा हिरासतमा रहेका प्रहरी अधिकारीहरूलाई केहीदिनयता छोड्दै आएको छ। जसमा एसपी दिवेश लोहनी र डिएसपी प्रजित केसी रहेका छन्। उक्त विषयलाई लिएर सांसद भुसालले अदालतले परिवर्तन र गणतन्त्रलाई स्वीकार गर्न नसकेको र कतैबाट कार्यपालिकाविरुद्ध प्रयोग भएको पनि आरोप लगाइन्।

‘न्यायपालिकाले परिवर्तन, गणतन्त्र, लोकतन्त्रलाई स्वीकार गर्न सकेको छैन’ उनले भनिन् , ‘सरकारले गरेका निर्णयहरू कतिपय भोलि, कतिपय एक हप्तामा त कतिपय दुई हप्तामा उल्टयाउने गरिएको छ।’ सांसद भुसालले केहीदिनअघि एक कार्यक्रममा विरोधिहरूविरुद्ध अरिंगाल बनेर जाइलाग्न भनेर दिएको निर्देशन प्रतिपक्षी प्रति लक्षित नभएको भन्दै बचाउ गरेकी छन्।

उनले समाजमा हुने कुरीति, हत्या, बलात्कार र अनावशयक रुपमा सरकार र पार्टीको विरोधीप्रति लक्षित भएको भन्दै प्रतिपक्षीप्रति लक्षित नभएको भन्दै बचाउ गरेकी हुन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उक्त अभिव्यक्तिको विरोध गरेका थिए। उनले यो विषय उचाल्न आवश्यक नरहेको बताइन्। सरकार पद्धती र प्रकृयाद्वारा जान तयार रहेको भन्दै सांसद भुसालले निर्मलाको बलात्कार र हत्या लगायत देशभर भइरहेका यस्ता घटनाले देशको छबी के हुने हो भन्ने चिन्ता रहेको बताइन्।

उनले बलात्कार र हत्याका घटनामा राजनीति नगरेर सत्तापक्ष मात्रै होइन प्रतिपक्षीले पनि त्यत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताइन्। उनले कठिन अवस्थामा पनि सरकारले अनुभव हुनेगरी काम गरेको दाबी गरिन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्