पहिरोमा पुरिएर महिलाको मृत्यु, अरु पनि पुरिएको आशंका



सैघाली खबर, १ असोज ।

बाग्लुङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बडीगाड गाउँपालिका भीमगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमाना तुरतुरेस्थित ठूलो भर्‍याङमा पहिरो जाँदा अर्घाखाँचीकी ३५ वर्षकी बिबिरन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा व्यवसाय गर्ने खातुन अर्घाखाँचीतर्फ आउँदै गर्दा पहिरोमा पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । गत शुक्रबार रातिदेखि खस्न थालेको पहिरो अझै रोकिएको छैन । उक्त सडकको विकल्प नभएकाले मानिसहरु सोही पहिरो खसेको ठाउँबाट बुर्तिबाङदेखि भीमगिठे ओहोरदोहोर गरिरहेका छन् ।

मृतक खातुनको शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा राखिएको छ । सडक पार गर्दा अरु पैदयात्रीहरु पनि पुरिएको आशंकामा खोज तलास गरिरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए । पहिरो पार गर्दै गरेकी खातुनसँगै अरु पनि पुरिएको हुनसक्ने स्थानीय पत्रकार दिनेश शर्माले बताए ।

उनका अनुसार पहिरो खसेको ठाउँमा महिलाको खुट्टा देखिएपछि खोजी गरिएको थियो । अरु धेरै मानिसहरु आवत जावत गरिरहेका थिए शर्माले भने, ‘ठूलो पहिरो खसिरहेको छ तत्कालै थप जानकारी आउन सक्ने अबस्था छैन ।’

पहिरोले ५ घण्टा वडिगाड खोला थुनिदा ठूलो ताल बनेको थियो । गत शनिबार बिहान खोला ओभर ˆलो भएर बग्न थालेको थियो । मध्यपहाडी लोकमार्ग भन्दा करिब ५ सय मिटर माथिबाट पहाडै खसेर अहिले लोकमार्ग नै अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै बुर्तिबाङ हुँदै बाहिर जाने यातायातका साधन बन्द भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्