प्रतिनिधि सभाका अधिकांश समितिमा महिलाले नेतृत्व गर्ने



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाका संसदीय समितिको नेतृत्व टुङ्गो लगाएको छ। अधिकांश समितिको नेतृत्व महिलालाई दिने तयारी नेकपाको छ।

राज्य व्यवस्था समितिको सभापति शशी श्रेष्ठ बन्ने भएकी छिन्। सभापति बनाउनकै लागि श्रेष्ठलाई कानुन न्याय तथा मानवअधिकार समितिबाट राज्य व्यवस्था समितिमा ल्याइएको छ।

त्यस्तै निरु पाल महिला बालबालिका समितिको सभापति बन्ने भएकी छिन्। पाललाई विकास समितिबाट महिला बालबालिका समितिमा पुर्‍याइएको छ।

स्रोतका अनुसार जयपुरी घर्ती शिक्षा तथा स्वास्थ्य समितिको सभापति बन्नेछिन्। घर्तीलाई पनि उद्योग वाणिज्य तथा श्रम समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा पुर्‍याइएको छ।

‘धेरै महिला सभापति बन्दैछन्’ स्रोतले भन्यो, ‘पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी पनि सभापति बन्दै हुनुहुन्छ।’ सुवेदीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्नेछिन्।

कल्याणीकुमारी खड्का विकास समितिको सभपति बन्ने भएकी छिन्। नेकपाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिको रुपमा रहेको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति निरादेवी जैरु बन्न भएकी छन्।

पुरुषतर्फ कृष्णप्रसाद दाहाल र कृष्णभक्त पोखरेल मात्र सभापति बन्ने भएका छन्। दाहालले अर्थ समितिको नेतृत्व पाउँदैछन् भने पोखरेलले कानुन न्याय तथा मानवअधिकार समितिको नेतृत्व पाउँदैछन्।

नेकपामा धेरै नेता समितिको सभापतिको आकांक्षी थिए। नेकपा स्थायी समिति सदस्य घनश्याम भुषाल अर्थ समितिको सभापति बन्ने चर्चा  थियो। योगेश भट्टराईको सनुवाइ समितिको सभापतिमा चर्चा थियो।

तर उक्त समितिको नेतृत्व राजपाले पाउने भएको छ।

जेष्ठ सदस्यको हैसियतमा नेतृत्व गरिरहेका लक्ष्मणलाल कर्ण नै समिति सभापति बन्ने भएका हुन्। ‘उहाँले दुई प्रधानन्यायाधीशको सुनुवाइ गरिसक्नुभयो’, नेकपाका एक नेताले भने, ‘उहाँले नेतृत्व गर्दा हुन्छ भन्ने निर्णय भएको छ।’

संसदीय समितिको सभापति चयनका लागि आउँदो ५ गते निर्वाचन हुदैँछ।

पूर्व मन्त्री र मन्त्री हुने सम्भावित व्यक्तिलाई सभापति नबनाउने निर्णय पार्टीले लिएको नेकपाका एक नेताले बताए।

नेकपाले उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिको नेतृत्व संघीय समाजवादी फोरमलाई दिने भएको छ। संघीय फोरमले विमल श्रीवास्तवलाई सभापति बनाउने तयारी गरेको छ।

स्रोतका अनुसार प्रदिीप यादवसँग सल्लाह नै नगरी अध्यक्ष उपेन्द्र यादवले सभापति बनाउनकै लागि श्रीवास्तवलाई समितिमा पठाएका हुन्। यादवलाई लेखा समिमि ल्याइएको छ भने श्रीवास्तव उद्योग, वाणिज्य र श्रम समिति पुगेका छन्।

समितिका सभापतिहरू राज्यमन्त्री सरह गाडी, सचिवालय र सुरक्षाको सुविधा पाउनेछन्।setopati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्