पोखरालाई शैक्षिक केन्द्र बनाइने



पोखरा, २ असोज.गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाइने बताउनुभएको छ ।

संविधान दिवसमा सरकारबाट पुरस्कृत कास्कीका चार विद्यालयको सम्मानार्थ जिल्ला समन्वय समिति कास्कीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भौगोलिक अवस्थितिसमेतका आधारमा पोखरा सबैकिसिमका सम्भावनाको स्थल भएको बताउनुभयो । पोखरामा समयसापेक्ष गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाको विकास गरिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङ्गले आगामी २० वर्षभित्रमा पोखरालाई दक्षिण एशियाकै उत्कृष्ट पाँचौँ शैक्षिकस्थल बनाउने लक्ष्य राखिएको बताउनुभयो ।

सामुदायिक विद्यलायमा पढाउने तर आफ्ना बालबच्चा निजी विद्यालयमा पठाउने प्रवृत्ति निरुत्साहन गरिनुपर्नेमा जोड दिँदै उहाँले सबैको सामूहिक प्रयासमा मात्र शिक्षाको गुणस्तरीयता सम्भव हुने उल्लेख गर्नुभयो । गण्डकी प्रदेश विश्व विद्यालयल स्थापना गरी स्वदेशी एवं विदेशी विद्यार्थीको आकर्षण केन्द्र बनाइनेमा जोड दिँदै मुख्यमन्त्री गुरुङ्गले त्यस्ता स्थल राजनीतिकरुपमा नभई प्राज्ञिक क्षेत्रबाट सञ्चालन गरिने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले सरकारबाट २०७४ मा उत्कृष्ट घोषित कास्कीका सामुदायिकतर्फ शीतलादेवी मावि, संस्थागततर्फ मदरल्याण्ड आवासीय मावि, त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसतर्फ पृथ्वीनारायण क्याम्पस र कक्षा ११÷१२ सञ्चालितमध्येमा अमरसिंह माविलाई सम्मान गर्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले केही सामुदायिक विद्यालयले पठनपाठनमा उदाहरणीय बन्दै आएको बताउँदै शैक्षिक गुणस्तरीयता अभिवृद्धिमा प्रदेश सरकारको सक्रिय रहनेछ भन्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्