काठमाडौं, २ असोज । शनिबार गरिएको “आकस्मिक” निर्णयबाट महानगरीय प्रहरी प्रभाग कोटेश्वरको कमाण्ड सम्हाल्ने मौका पाएकी छिन् प्रहरी निरीक्षक एलिजा गिरीले । महानगरीय प्रहरी प्रभाग काँडाघारी, कोटेश्वर र सानोठिमीका प्रहरी अधिकारीसहित ९ जनाको टोली शनिबार घुसको रकमसहित रंगेहात पक्राउ परेपछि कोटेश्वरमा एलिजाले जिम्मेवारी पाएकी हुन् ।
घुसकाण्डलगत्तै महानगरीय प्रहरी कार्यालयले तत्काल प्रहरी अधिकारी परिवर्तन गर्ने निर्णय गरेको थियो । महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका इन्चार्ज परिवर्तन हुने भएपछि प्रहरीले अति व्यस्त र सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील मानिने कोटेश्वरका लागि प्रहरी निरीक्षक एलिजा गिरीलाई नै छान्यो । प्रहरी प्रभाग कोटेश्वरबाट प्रहरी निरीक्षक राजु लामालाई हटाएर एलिजा गिरीलाई ल्याइएको हो । लामालाई सामाखुसीस्थित पहरा गणमा पठाइएको प्रहरी प्रवक्ता शैलेश थापाले जनाएका छन् ।
प्रहरी अधिकारीहरूका अनुसार केही महिनायता महानगरीय प्रहरीका पाँच अन्य प्रभागहरु सफलतापूर्वक सञ्चालन गरिरहेका महिला अफिसरबाट प्रेरित भएर यो निर्णय गरिएको हो । महानगरीय प्रहरी प्रभागहरुमध्ये बलम्बुमा प्रहरी निरीक्षक शर्मिला गुरुङ, सानेपामा रुपा लाबुङ्ग, पुल्चोकमा चेतना पोख्रेल र साँखुमा लक्ष्मी पाण्डे खनालले कमाण्ड सम्हालिरहेका छन्
साढे ३३ किलो सुुनकाण्ड, भक्तपुरको नक्कली इन्काउण्टर हुँदै कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याकाण्डको छानविनमा प्रहरीमाथि औंला उठिरहेको छ । यही औंला र प्रश्नहरुका बीच प्रहरी उपरीक्षक दुर्गासिंह चन्दलाई निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको छानविन प्रक्रियालाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले कञ्चनपुरतर्फ पठाएको छ । आशा गरौं, उनी त्यहाँ पुगेर नसुल्झिएको रहस्यलाई उजागर गर्न सक्षम हुनेछिन् ।
प्रहरी संगठनको गुम्दै गएको छवि र उड्दै गरेको जनविश्वासलाई फर्काउन यस्ता सक्षम महिलाहरु पनि संगठनमा छन् जसले प्रहरी संगठनमाथि विश्वास र भरोसा कायम नै राखेको छ । प्रहरी संगठनलाई यसरी कुशल नेतृत्व दिनेमा महिला कमाण्डरहरू धेरै देखिन थालेका छन् । यो समयाको माग पनि हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।