मलेसियामा विषाक्त रक्सी पिउँदा मृत्यू हुनेको संख्या १५ , मृत्यु हुनेमा ७ जना नेपाली रहेको अपुष्ट खबर (व्रेकीङ न्यूज)



काठमाडौं, २ असोज । मलेसियाको राजधानी क्वालालुम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।  मलेसियाली सञ्चारमाध्यमका अनुसार हिजो (सोमबार) मलेसियामा सार्वजनिक विदा भएकाले छुट्टीको दिन मदिरा पिउनेमध्ये १५ जनाको मृत्यु भइसकेको छ ।

विषाक्त मदिरा सेवनकै कारण थप ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।  सोमबार मलेसियाली राजाको जन्मदिन भएकाले त्यहाँ सार्वजनिक छुट्टी दिइएको थियो । त्यसै क्रममा क्वालालम्पुर क्षेत्रको सुनगाई बुलो, गोमबाक, काजाङ, क्लाङ र शाह आलम क्षेत्रमा मदिरा सेवन गरी बिरामी परेका ४८ मध्ये १५ जनाको मृत्यु भएको हो ।

विषाक्त मदिराकै कारण बिरामी परेकाहरुमा १५ जना नेपाली, २ जना मलेसियाली र २ जना बंगलादेशी नागरिक रहेको बताइएको छ । बिरामी भएका अन्यको भने अझै सनाखत भइसकेको छैन । यद्यपि, उनीहरुमध्ये अधिकांश नेपाली नागरिक रहेको बताइएको छ ।

क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले १५ जनाको मृत्यु भइसकेको र ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । मृत्यु हुनेमध्ये दुई जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुने नेपालीहरुको सङ्ख्या ७ पुगेको मलेसिया प्रहरीले बताएको छ ।

अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङक्षेत्रका विभिन्न पसलबाट म्याण्डले ह्विीस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्वीस्की सेवन गरेका थिए ।

अस्पतालमा उपचाररत बिरामीहरुमा वान्ता आउने र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबैजसो बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरु सबैले यी तीनमध्ये एक मदिरा सेवन गरेको पाइएको छ ।  मलेसियामा सस्तो मूल्यका मदिराहरु नेपालीहरुको रोजाईमा पर्ने गरेको र बिरामी भएकामध्ये धेरै नेपालीनै रहेको बताइएको छ ।  घटनाको थप विवरण आउन बाँकी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्