अन्तरघातीलाई नछोड्ने देउवाको चेतावनी



काठमाडौ, ५ साउन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको बताउनुभएको छ ।
दुई नम्बर प्रदेशको पार्टी भेलालाई बिहीबार काठमाडौमा सम्बोधन गर्दै देउवाले अन्तर्घातकै कारण स्थानीय तह निर्वाचनमा कांग्रेसले पहिलो पार्टी बन्ने अवसर गुमाएको बताउनुभएको हो । देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउनुभयो ।

निर्वाचनमा आकांक्षी हुनु स्वभाविक भएको बताउँदै उहाले आफूले टिकट पाएमात्र जितिने भ्रम नपाल्न नेता कार्यकर्तालाई अनुरोध गर्नुभयो । देउवाले तेश्रो चरणको निर्वाचनमा पहिलो र दोश्रोमा भएको क्षतिको ‘मेकअप’ गर्ने भन्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि व्यक्तिगत स्वार्थ छाडेर लागिपर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार छनोटको बिषय स्थानीय तहमै टुंग्याउनुपर्नेमा जोड दिनुभयो । अघिल्ला निर्वाचनहरुमा स्थानीय स्तरबाट टुंगिएका उम्मेदवारले चुनाव जितेको तर केन्द्रबाट टुंगो लागेका उम्मेदवार पराजित भएको बताउँदै पौडेलले गुटबन्दीका आधारमा टिकट नबाँड्न आग्रह गर्नुभयो ।

यस्तै, नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन विधेयक प्रकृयामा लैजान कांग्रेस तयार रहेको बताउनुभयो । कांग्रेस कोषाध्यक्ष सितादेवी यादवले एमाले बाध्य भएर संविधान संशोधनको पक्षमा भोट हाल्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्