संविधानले नेपाललाई बलियो बनाउँछ- प्रधानमन्त्री



काठमाडौं ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन् ।

संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्ने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकाङ्क्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गरेका छन् । ‘असोज ३ गते संविधान जारी भएको दिन, आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन हो’, उनले सन्देशमा भनेका छन्, ‘त्यसैले उल्लासमय वातावरणमा देशभरि नै आज भव्यरुपमा राष्ट्रिय दिवस मनाउँछौँ ।’

प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको बताएका छन् ।

संविधानले पैंतीस भाग, ३०८ धारा र नौ अनुसूचीमा लिपिबद्ध मानवीय एवं लोकतान्त्रिक राजनीतिको मौलिक, आधुनिक र प्रगतिशील पक्षहरुलाई अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताएका छन् ।

संविधानमार्फत संवैधानिक सर्वोच्चतासहितको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापना गरिएको बताउँदै उनले सन्देशमा आवधिक निर्वाचन, मानवधिकार, कानूनी राज, नियन्त्रण र सन्तुलनसहितको शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिको व्यवस्था गरिएको बताएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘सुदृढ लोकतन्त्रमा प्रयोगमा आएका लोकतन्त्रका विश्वव्यापी सबै अवयवलाई हामीले वैधानिक रुपमा नै यस संविधानमा संस्थागत गरेका छौँ, त्यसैले यो संविधान हामी नेपालीलाई सार्वभौमसत्ता सम्पन्न बनाउने सबैभन्दा प्रगतिशील दस्तावेज हो । यही संविधानले गरेका परिकल्पनाको आलोकमा यो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्