घट्दै प्रहरी माथिको विश्वास –यसकारण कमजोर हुँदै छ प्रहरी संगठन



कञ्चनपुर घटनापछि प्रधानमन्त्री र गृहमन्त्रीले समेत विश्वास गर्न छाडे
झन्डै दुई महिनाअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमा र अधिकारकर्मीलाई गत सोमबार आफ्नै निवासमा भेट्दै प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर घटनामा प्रहरी अनुसन्धानमा त्रुटि भएको बताएका थिए । ‘हामीले प्रहरीलाई पूर्ण रूपमा विश्वास ग-यौँ, तर अनुसन्धानमा त्रुटि भएको रहेछ, छानबिन समिति बनेको छ, त्यसले सच्याउनेछ,’ ओलीको भनाइ थियो । स्रोतका अनुसार यो घटनामा आइजिपी सर्वेन्द्र खनालसँग समेत प्रधानमन्त्री असन्तुष्ट छन् । मातहतका प्रहरीलाई नियमन गर्न नसक्दा अनुसन्धानमा लापरबाही भएकाले सरकारलाई समेत बदनाम गराएको उनको निष्कर्ष छ ।

गृहमन्त्री रामबहादुर थापाले त प्रहरी रिपोर्टकै आधारमा निर्मला हत्या घटनामा संलग्न अभियुक्त पक्राउ परिसकेको जानकारी गराएका थिए । उनले १७ साउनमा जीवन घर्तीमगर र दीपक नेगीलाई पक्राउ गरिएको संसद्लाई बताएका थिए । तर, ती दुवै हत्यामा संलग्न थिएनन् । संसद्लाई झुटो सूचना दिएको भन्दै गृहमन्त्रीकोचर्को आलोचना भयो । स्थानीय प्रहरी र सिआइबीको अनुसन्धानका आधारमा प्रमाणविना नै नक्कली अभियुक्त खडा गरेर आफूलाई गलत सूचना दिएको भन्दै गृहमन्त्री पनि प्रहरी नेतृत्वप्रति असन्तुष्ट छन् ।

आइजिपी सर्वेन्द्र खनाल भन्छन्– गल्ती सुधार्दै प्रहरी अघि बढ्छ, विश्वास गर्नुस्

कञ्चनपुर घटनामा अनुसन्धानका क्रममा सुरुमै प्रहरीबाट गल्ती भएकै छ । त्यसमा हामीले आन्तरिक कारबाही पनि थालिसकेका छौँ । नयाँ छानबिन समिति बनाएर अनुसन्धान पनि भइरहेको छ । रात–दिन नभनी लागिपरेका छौँ । विगतमा पनि धेरै ठूला–ठूला घटनाका अपराधी हामीले पक्राउ गरेका छौँ । गल्ती गर्ने प्रहरीलाई कुनै हालतमा छाडिँदैन । कञ्चनपुर घटनाको सत्यतथ्य पत्ता लगाएरै छाड्छौँ । प्रहरीमाथि विश्वास गर्न म सबैलाई आग्रह गर्छु । गल्ती सुधार्दै प्रहरी अघि बढ्छ ।

यसकारण कमजोर हुँदै छ प्रहरी संगठन

 

 

 

 

 

आइजिपीमा ‘कमान्ड अनुभवको अभाव’
डिआइजीका रूपमा उपत्यका ट्राफिकको नेतृत्व गरिरहेका सर्वेन्द्र खनाल एकैपटक प्रहरी संगठनको नेतृत्वमा पुगे । डिआइजीको भूमिकामा पनि उनले आठ महिना मात्रै काम गरेका थिए । उनीसँग कमान्ड अनुभवको अभाव रह्यो । गृह मन्त्रालयका एक अधिकारीका अनुसार आइजिपी बढुवामा भएको यही ग्यापले अहिले प्रहरी नेतृत्वमा समस्या आएको हो । ‘डिआइजीको अनुभव बटुल्दै एआइजी भएर आइजिपीको सेकेन्डम्यानका रूपमा खनाल नेतृत्वमा पुगेका भए धेरै परिपक्वता आउँथ्यो,’ ती अधिकारीले भने, ‘एकैपटक एसएसपी र डिआइजीबाट आइजिपी हुँदा समस्या ल्यायो ।’

आइजिपी र अन्य अधिकारीबीचको ग्याप
प्रहरीमा आइजिपी र अन्य उच्च अधिकृतबीच ग्याप देखिने गरेको छ । समयमा एआइजी बढुवा नहुँदा प्रहरी प्रधान कार्यालयका कार्यविभाग, अपराध अनुसन्धान विभागको नेतृत्व पाँच महिनादेखि रिक्त छन् । उक्त कार्यभार पनि आइजिपीमाथि नै थपिएको छ । वस्तुस्थितिको विश्लेषण गरेर निर्देशन दिने अधिकार कार्यविभागलाई हुन्छ । अपराध अनुसन्धानमा सहयोग तथा अनुगमन गर्ने काम अपराध अनुसन्धान विभागले गर्छ । दुवै विभाग नेतृत्वविहीन हुँदा पनि अहिले प्रहरी कमजोर हुन पुग्यो । पूर्वएआइजी नवराज ढकाल समयमै एआइजी बढुवा नहुँदा पनि प्रहरी नेतृत्वमा केही समस्या देखिएको बताउँछन् ।

विगतका योजना कार्यान्वयन भएन, नयाँ रणनीतिक योजना छैन
प्रहरीमा विगतमा जस्तो एकताको भावना छैन । आइजिपी एक्लै अघि बढ्न खोजेको भन्दै उनका ब्याचीहरू असन्तुष्ट छन् । महत्वपूर्ण विषयमा समेत प्रहरीको नेतृत्व तहमा छलफल हुने गरेको छैन । ‘संगठनको कुनै रणनीतिक योजना नै बनेको छैन, विगतको योजना पनि राम्रोसँग कार्यान्वयन भएको छैन,’ एक डिआइजीले भने, ‘आइजिपीले कोहीसँग छलफल नै नगरी आफ्नो प्राथमिकता मात्रै सार्वजनिक गरेका छन्, प्रहरी संगठनको प्राथमिकता नै तयार भएको छैन ।’ पछिल्लो समय समस्या बढ्दै गएपछि भने आइजिपी खनालले नियमित विभागीय बैठक बोलाउन थालेको स्रोत बताउँछ ।

सरुवा बढुवामा राजनीति, चेन अफ कमान्ड कमजोर
सरुवा बढुवामा अत्यधिक राजनीतिक दबाबका कारण पनि प्रहरीको चेन अफ कमान्ड यतिवेला निक्कै कमजोर बनेको छ । क्षमताका आधारमा भन्दा नेताको निकटताका आधारमा अधिकांशले सरुवा–बढुवामा लाभ लिन्छन् । प्रहरी नेतृत्वमा यसपटक पहिलेजस्तो बाहिर देखिने गरी गुटबन्दी छैन । तर, आफूनिकट बाहेक अरूलाई पेलेर जाने रणनीति लिएको अरोप आइजिपी खनालमाथि लाग्ने गरेको छ । जसकारण धेरै जिल्लाहरूमा खराब व्यक्तिले पनि नेतृत्व पाएका छन्, केही राम्रा अधिकृत गुमनाम छन् । आइजिपीकै व्यवहारका कारण अनुसन्धानमा दख्खल राख्ने कतिपय प्रहरी अधिकृतले राजीनामासमेत दिएको स्रोत बताउँछ ।

सुपरिवेक्षण र छड्के नहुनु समस्याको जड
कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज विष्ट रोजी–रोजी प्रदेश ७ का जिल्लाहरूमा बसे । स्थानीय नेताकै सिफारिसमा उनी गत वर्ष कञ्चनपुरको एसपी भएका थिए । कञ्चनपुरका स्थानीयसँग उनको सुरुदेखि नै राम्रो सम्बन्ध थिएन । तर, यसबारे प्रहरी नेतृत्व बेखबर थियो । किनभने अहिले प्रहरीमा नियमित अनुगमन, सुपरिवेक्षण र छड्के प्रणाली नै छैन । स्थानीयसँग तिक्ततापूर्ण सम्बन्ध र उनको व्यवहारमा समस्या भएकाले नै कञ्चनपुरका सर्वसाधारण प्रहरीसँग रुष्ट भएको प्रारम्भिक छानबिनबाट खुलिसकेको छ । अञ्चल तथा प्रदेश प्रहरी कार्यालयले पहिलेदेखि नै नियमन गरेर त्यो कुरा पत्ता लगाई व्यवस्थापन गरेको भए अहिलेको अवस्था नआउने निर्मला हत्याकाण्ड छानबिनमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्