दश वटा समितिका सभापतिहरूको निर्वाचन प्रक्रिया आज



काठमाडौं, ४ असोज । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिहरूको सभापति चयनका लागि बिहीबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

निर्वाचन कार्यक्रम अनुसार बिहीबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म समितिमा सभापति हुन चाहने सांसदले कम्तिमा एकजना प्रस्तावक र एकजना समर्थक रहेको उम्मेदवारी प्रस्ताव दर्ता गराउनु पर्नेछ ।

१० वटै समितिमा दर्ता हुन आएका प्रस्ताव दर्ता समय अनुसार मिलाई बिहीबार बेलुका उम्मेदवारको सूचि प्रकाशन गरिनेछ ।

प्रस्तावहरू शुक्रबार बिहान ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत गरिने नियमावलीमा व्यवस्था छ ।

जुन उम्मेदवारको पक्षमा समितिको बैठकमा पहिलो बहुमत पुग्छ त्यसलाई नै विजयी घोषणा गरिनेछ । सभापतिमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भए निर्बिरोध घोषणा गरिने व्यवस्था नियमावलीमा छ ।

शुक्रबार निर्वाचन हुने प्रतिनिधिसभाका समितिहरू राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति , उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक समिति रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्