पत्रकारको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध-सभामुख महरा



काठमाडाैं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए।

सभामुख महराले पत्रकारको माग सम्बोधन गर्न सरकारले नयाँ मुलुकी ऐन संशोधन गर्ने वचन आफूलाई दिएको जानकारी दिए। बिहीबार काठमाडौंमा आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा बोल्दै सभामुख महराले देश र जनताको पक्षमा समर्पित भएर समाचार सम्प्रेषण गर्न पनि पत्रकारलाई आग्रह गरे।

पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउन पनि पत्रकारले देश र जनताको पक्षमा समर्पित भएर काम गर्नुको विकल्प नरहेकोे सभामुख महराको भनाई छ। सभामुख महराले नयाँ मुलुकी ऐन संशोधनका लागि सरकारसँग पर्याप्त छलफल गर्न पनि नेपाल पत्रकार महासंघलाई सुझाव दिए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी एकपछि अर्को कानुन ल्याएको भन्दै आपत्ति जनाए।

उनले प्रेस स्वतन्त्रताविरोधी कानुन संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए। कार्यक्रममा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गरिएको छ। नेपाल-अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक २ वर्षमा प्रदान गर्दै आएको सो पुरस्कारको राशी दुई लाख २२ हजार २२२ रुपैयाँ रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्