प्रधानमन्त्री ओली अमेरिका जाँदै, यस्तो छ भ्रमणको कार्यतालिका



काठमाडौं – केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्ने भएका छन्। उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहने छिन्।

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने ९संस्था० बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने छन्। उनले सोही दिन यस विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखरबैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्वोधन गर्ने छन्। सो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उनको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ।

प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुने छन्। उनी असोज ९ गते मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्।

प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्ने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्ने छन्। उनले सोही दिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्यान दिने छन्। अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्ने छन्।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका कार्यक्रमका साथसाथै असोज १० गते बुधबार स्विजरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्ने छन्। उनले असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्ने छन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्