छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भरमा



तेह्रथुम, ५ असोज । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ ।

सडक बनेपछि ट्रकले गाउँसम्म खाद्यान्नलगायत उपभोग्य वस्तु बोकेर ल्याइदिन्छ भन्ने गाउँवासीको आशा सडक खन्न थालेको दुई दशकसम्म पनि पूरा हुन सकेन । तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा जोड्ने २८ किलोमिटर सडकमा अझै सहज हुन सकेको छैन । गाउँले खच्चड र पिठ्यूँमा फोका उठाउँदै नजिकिएका पर्वका लागि उपभोग्य वस्तु बोक्न बाध्य छन् । शुरुमा वसन्तपुर गुफा सडक आयोजना, त्यसपछि तत्कालीन तेह्रथुम जिल्ला विकास समिति र हाल सडक डिभिजन कार्यालय धनकुटा र सङ्खुवासभाले यो सडक बनाइरहेका छ ।

अठ्ठाइस किलोमिटर लामो यो सडक निर्माणमा हालसम्म कति बजेट खर्च भयो भन्ने हिसाब किताब आयोजना, जिविस र सडक डिभिजन तीनवटै निकाय देखाउन आनाकानी गर्छन् । पहिलेको रेकर्ड हराएको, नभेटिएको जस्ता बहाना बनाउँदै कर्मचारी एकअर्कालाई दोष लगाउँदै आफू पन्छिन्छन् ।

यो सडक निर्माणमा देशको ठूलो धनराशि खर्च भएको चौकी बजारका उदयकुमार ल्होले बताउनुभयो । गत वर्षदेखि यो सडकलाई सरकारले राष्ट्रिय गौरवको आयोजनमा समेटी मदन भण्डारी लोकमार्ग नाम दिएर बजेट विनियोजन गरेको छ । वसन्तपुरबाट पाँचपोखरी, चौकी, मङ्गलबारे, गुफा हुँदै निर्माण गरिएको यो सडकमा सवारी सञ्चालन हुन नसकेपछि दसैंका लागि अहिल्यैदेखि चौँरी र खच्चडमार्फत सामान ढुवानी गर्न थालेका छन् ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्