विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो



सैघाली खबर, ६ असोज ।

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ । यसअघि विषाक्त मदिरा सेवनबाट ६ जनाको ज्यान गएकोमा थप दुईको उपचारका क्रममा मृत्यु भएको हो । मलेसियास्थित नेपाली राजदूतावासका अनुसार उपचारका क्रममा ज्यान गुमाउनेमा देउराली–८, नवलपरासीका दुर्गा राना र वागमती नगरपालिका–८, सर्लाहीका शंकर ठकुरी छन् ।

रानाको सुगाईवुला र ठकुरीको सेरेम्वान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अवैधानिक अवस्थामा रहेका ठकुरीले अस्पतालमा उपचार गराउँदा सुवास भण्डारीको परिचय दिएका भए पनि उनको खास नाम शंकर ठकुरी रहेको उनका एक आफन्तले बताए ।

यसैबीच, विभिन्न अस्पतालमा उपचार गराइरहेका १२ मध्ये चार जनाको अवस्था अझै गम्भीर छ । दूतावासका अनुसार सात जनाको स्वास्थमा भने सुधार भएको छ । सेरेम्वान अस्पतालमा उपचारपछि एक नेपाली भने फर्किएका छन् । ती नेपालीले नाम उल्लेख नगर्ने सर्तमा अब रक्सीको नाम पनि नलिने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्