विकास र समृद्धिका लागि क्षेत्रको पहिचान आवश्यक – रक्षामन्त्री



काठमाडाँ, ६ असोज – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ लैजानका लागि क्षेत्रको पहिचान आवश्यक रहेको बताउनुभएको छ ।

वौद्धिक वृत नेपालको आज यहाँ आयोजित आठौँ साधारणसभा तथा वौद्धिक दर्पण सार्वजनिक कार्यक्रममा उहाँले मुलुक विकास र समृद्धितर्फ अघि बढाउनका लागि वौद्धिक व्यक्तित्वले त्यस्ता क्षेत्रको पहिचान गर्नुपर्ने बताउनुभयो । समृद्धिको नारा दिएर मात्र नभएर ठोस नीति आवश्यक रहेको उहाँको धारणा थियो ।

कृषि, ऊर्जा, पर्यटन उद्योगजस्ता क्षेत्र पहिचान गरेर मुलुकको आर्थिक विकास र समृद्धिमा लैजान सकिने उहाँको भनाइ थियो । मन्त्री पोखरेलले राजनीतिक अधिकार प्राप्त भइसकेकाले अब अधिकार प्राप्तिका लागि लडाइँ लड्नु नपर्ने विचार व्यक्त गर्नुभयो ।

“अब राजनीतिक अधिकार प्राप्तिका लागि पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारीजस्तै भूमिगत भएर काम गर्नु आवश्यक छैन”, उहाँले भन्नुभयो–“हिजो जेल हालेको, भूमिगत बसेको भनेर कथा हालेर राजनीतिक चल्दैन । अहिले देशलाई आर्थिक विकास र समृद्धि चाहिएको छ ।”

उहाँले आर्थिक विकास र समृद्धिमा लैजानका लागि नीति, विधि, संरचनाको परिमार्जन आवश्यक रहेको छ भन्नुभयो ।
उहाँले नेता पनि आचरणमा बाँधिनुपर्ने भन्दै राजनीतिक नेतृत्वलाई के बोलेको र घोषणापत्रअनुसार काम गरे÷नगरेको वौद्धिक व्यक्तित्वले सचेत गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वृत्त नेपालद्वारा प्रकाशित पुस्तक ‘वौद्धिक दर्पण’ समेत मन्त्री पोखरेलले विमोचन गर्नुभएको थियो । पुस्तकमा नेपालको आर्थिक विकास र समृद्धि कसरी गर्ने भन्ने सम्बन्धमा १९ लेख रहेका छन् ।

वृत्त नेपालका अध्यक्ष भरतराज पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धि ल्याउनका लागि वौद्धिक व्यक्तिसँग सरकारले छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्