विदेशबाट फर्किएकालाई सस्तो ब्याजमा १० लाखसम्म ऋण, सर्टिफिकेट धितोमा कति पाउने?



काठमाडौं ,७ असोज । वैदेशिक रोजगारीबाट फर्किएका, उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार रहेका र व्यवसायीक कृषि तथा पशुपंक्षीसम्बन्धी उद्योग व्यवसाय गर्न चाहानेले सरकारबाट सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्यवनमा गएको छ ।सरकारले आन्तरिक उत्पादन बढाउने लक्ष्यका साथ व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकको कर्जा ५ प्रतिशतको सहुलियत ब्याजदरमा ५ करोडसम्म ऋण दिने व्यवस्था गरेको हो ।

यस्ता विभिन्न व्यवस्था गर्न बनेको ब्याज अनुदान सम्बन्धी कार्यविधि(२०७५लाई शुक्रबार मन्त्रिपरिषदले पास गरेको हो । कार्यविधिमा विदेशबाट फर्किएकालाई पनि सहुलियत दरमा ब्याज पाउने व्यवस्था गरिएको छ । त्यस्तै शैक्षिक बेरोजगारलाई स्वरोजगारीका लागि पनि सस्तो ब्याजदरमा ऋण दिन सकिने व्यवस्था भएको छ ।

दलित समुदायमा व्यवसायिक क्षमता विकास गर्न र उच्च शिक्षाका लागि शैक्षिक कर्जा लिन सकिने व्यवस्था पनि कार्यविधिबाटै गरिएको छ । महिला उद्योगीलाई दिइने सहुलियत ब्याजदरको कर्जा पनि यसमै समेटिएको छ । भूकम्प पीडितलाई घर निर्माणका लागि ३ लाखसम्म ५ प्रतिशतको सहुलियत कर्जा दिन लागिएको छ ।

यी सबै खालका कार्यक्रम बजेटमार्फत घोषणा भएका थिए । त्यसलाई कार्यान्वयन गर्ने गरी कार्यविधि पारित भएको हो ।५ वर्षका लागि दिइने यस्ता ऋणहरुको ब्याजदरको सीमा पनि सरकारले नै तोकिदिएको छ । बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने लगानीलाई यिनै कर्जाहरुमार्फत परिचालन गर्नेछन् ।

यसअनुसार बैंकले ब्याजको आधार दरभन्दा दुई प्रतिशत बढी ब्याज तोक्न पाउने छैनन् । सरकारले यस्ता क्षेत्रमा ऋणहरू परिचालन गर्दा ब्याजमा ५ देखि ६ प्रतिशत अनुदान दिनेछ । यो हुँदा ऋणीले बैंकको ब्याजदरमा आधा र त्यसभन्दा बढी सहुलियत पाउने अवस्था बन्नेछ । यस्तो ऋणमा अतिरिक्त कुनै पनि शुल्क लिन नपाइने व्यवस्था भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्