साहित्यकार गणेश शाहको निधन



सैघाली खबर

दाङ, साउन ६ । साहित्यकार गणेश शाहको निधन भएको छ । उहाँको आज दिउँसो करिब २ बजेतिर घोराहीस्थित आफ्नै निबास निधन भएको हो ।लामो समयदेखि उच्च रक्तचाप, मधुमेहबाट पीडित उहाँ पछिल्लो समय प्यारालाइसिसबाट पीडित हुनुहुन्थ्यो ।वि.सं. २००६ भाद्र २१ गते मङ्गलबार साविक रुकुमकोट गाविस ९ रुमालबारा पेदीमा जन्मिनुभएका उहाँ हाल घोराही उपमहानगरपालिका– १४ शिवमन्दिर दाङमा बस्दै आउनुभएको थियो ।

बुबा धनबहादुर शाही र मुमा कमलादेवी शाहीको कोखबाट चार दाइ र एक दिदीको कान्छो भाइको रुपमा जन्मिनुभएका उहाँ सानै उमेरमा दाङ झर्नुभएको थियो ।

उहाँका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।

दाङमा कठीन मेहनत र संघर्ष गरेर सफल उद्यमी र साहित्यकारको रुपमा परिचय बनाउनुभएका उहाँ राप्ती साहित्य परिषद्को आजीवन सदस्यका साथै प्रगतिशील लेखक संघ दाङको कोषाध्यक्षको जिम्मेवारीसमेत पूरा गर्नुभएको थियो ।

सामाजिक उपन्यास चिल्ली २०६१, गीत बन लप्का र छल्का गीति संंग्रह २०६२ र लावण्य देशका राजा र साँगालीहरू कथा संग्रह २०६५ कृतिका रुपमा प्रकाशित गरिसक्नुभएका उहाँका विभिन्न पत्रपत्रिकाहरुमा थुप्रै फूटकर गीत, कविता र निबन्धहरु प्रकाशित भइसकेका छन् ।

उहाँले उद्योग वाणिज्य संघ दाङद्वारा सफल उद्यमी कदर पत्र २०६०, कृषि विकास बैंकबाट असल ऋणी परिचय पत्र २०६०, राप्ती साहित्य परिषद्द्वारा डोमादेवी साहित्यिक पुरस्कार २०६४ र श्याम चीसद्वारा स्थापित गोविन्द चीस सर्जक पुरस्कार २०६७ बाट पुरस्कृत तथा सम्मानित भइसक्नुभएको थियो ।

साहित्यकार गणेश शाहको संक्षिप्त चिनारी

नाम : गणेश शाह
जन्म : २००६ साल भाद्र २१ गते मङ्गलबार
ठेगाना : घोराही उपमहानगरपालिका– १४ शिबमन्दिर टोल दाङ
जन्मस्थान : रुकुमकोट गाविस– ९ रुमालबारा पेदी, रुकुम
बुबा : धनबहादुर शाही
मुमा : कमलादेवी शाही (चार दाइ र एक दिदीको कान्छो भाइ)
बालककाल : गाउँघरकै वातावरणमा हुर्किएको ।

शिक्षा : औपचारिक शिक्षा स्थानीय पाठशालामा कक्षा पाँचसम्म त्यसपछि जेल बस्दा एसएलसीको तयारी गरेको । अरु उप्रान्त स्वअध्ययन ।

जेल यात्रा : सदरमुकामका लागि भएको विवादका कारण २०३० सालमा मुसिकोट खलङ्गामा भएको गोलीकाण्डबाट राजकाज अपराधको मुद्दा लगाइएर घोराही जेलमा एक वर्षको कैदी जीवन व्यतित् ।

वैवाहिक जीवनः २०३२ सालमा सल्यान कोटमौलबाट सुश्री द्रौपदी चन्दका साथ मागी विवाह भएको ।

परिवार : एक छोरी, दुई छोरा, एक बुहारी र एक नातिनी ।

पेशा : विवाह पूर्व कृषि हाल शाही मसला उद्योग (रुकुमकोट पुडिया घर) सञ्चालन ।

रुचि : नाच–गान–बजान गर्नु, लिङ्गे पिङ खेल्नु, पानी पौडिनु, पिक्निक तथा भ्रमण गर्नु, पन्छी र जनावरको आवाज सुन्न मन पराउनु, गाडमा माछा मार्न दुवाली तथा जाल खेल्नु, सिकार खेल्नु, हाल कम्प्युटर चलाउनु, फोटोग्राफी र भिडियो मिक्सिङ गर्नु, लेख रचना गर्नु तथा इन्टरनेट चलाउनु आदि ।

विचार तथा स्वभाव : धार्मिक साम्प्रदायिकतामा विश्वास नगर्नु । आध्यात्मिकताको पनि सम्मान गर्नु । वैज्ञानिक भौतिकवाद र प्राकृतिक शक्तिमा बढी विश्वास गर्नु । मानव समाज तथा मानव जीवनको हित र राष्ट्रको सार्वभौमिक स्वतन्त्रताको रक्षा तथा देशको विकास गर्ने कार्यलाई नै धर्म सम्झिनु ।

भोजन : दाल, भात, तरकारी, रोटी, दही, दूध, फलपूmल, मदिरा आदि प्रायः सबै किसिमका खाना रुचाउनु ।

सीप : डोरा दाम्ला नाम्ला बाट्नु, कपडा सिउनु, पिसाइका मिल मसिन जडान गर्नु तथा घरेलु प्रयोगका इलेक्ट्रिक वा टुलयुक्त सामान मर्मत गर्नु ।

राजनीतिक सम्बन्ध : २०४७ सालमा नेकपा (माले) बाट राजनीतिक पार्टीको सम्पर्कमा रही २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन त्रिननपा– १० को वडाध्यक्ष पदमा नेकपा (एमाले)को तर्फबाट चुनाव लडेको । पार्टी विभाजन र महाकाली सन्धिपछि पार्टी कार्यमा निष्क्रिय रही २०६२ देखि पार्टी सदस्यता परित्याग गरेको ।

प्रकाशित कृति :
चिल्ली (सामाजिक उपन्यास– २०६१)
गीत बन लप्का र छल्का (गीति संंग्रह– २०६२)
लावण्य देशका राजा र साँगालीहरू (कथा संग्रह– २०६५)

भ्रमण : भारतको देहरादून, पञ्जाब लुधियाना, गोरखपुर आदि सहरहरू ।

संलग्नता :
राप्ती साहित्य परिषद्को आजीवन सदस्य
प्रगतिशील लेखक संघ दाङ शाखाको कोषाध्यक्ष
(२०६५–२०७२ तीन कार्यकाल)

पुरस्कार तथा सम्मान :
उद्योग वाणिज्य संघ दाङद्वारा सफल उद्यमी कदर पत्र २०६०
कृषि विकास बैंकबाट असल ऋणी परिचय पत्र २०६०
राप्ती साहित्य परिषद्द्वारा डोमादेवी साहित्यिक पुरस्कार २०६४
श्याम चीसद्वारा स्थापित गोविन्द चीस सर्जक पुरस्कार २०६७

निधन : २०७४ साउन ६ गते शुक्रबार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्