‘कथा काठमाण्डु’ बारे प्रियंका यस्तो भन्छिन्



सैघाली खबर, ९ असोज ।

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’लाई लिएर अहिले थुप्रै खालका बहस सिर्जना भएको छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै नायिका पि्रयंका कार्की र कलाकार प्रमोद अग्रहरि विचको अन्तरंग दृश्यले आलोचना र प्रशंसा दुबै पाएको छ । चलचित्रको यो विवादमा नायिका प्रियंका कार्की भने अहिलेसम्म मौन नै थिइन् । तर, चलचित्र रिलिज हुनुभन्दा एक साता अगाडि मिडियासँग कुराकानी गर्न तयार भएकी प्रियंका ले आफू प्रचारको योजना अनुसार नै नबोलेको बताएकी छिन् ।

मलाई लाज लागेर नहिडेकी होइनँ
यो हाम्रो सुरुवातदेखि कै योजना थियो । म चलचित्रसँग आवद्ध हुदिनँ, मलाई लाज लाग्यो भनेर प्रचारमा नहिडेकी होइनँ । चलचित्रमा मैले गरेको भूमिकालाई लिएर सकारात्मक र नकारात्मक दुबै खालको प्रतिक्रिया आउँछ भन्ने मलाई थाहा थियो । मैले दिएको दृश्य हाम्रो समाजमा सजिलै पच्दैन भन्ने मलाई लागेको थियो । यो कुनै पब्लिसिटी स्टन्टका लागि गरिएको पनि थिएन । म पनि मेरो करिअरको यो विन्दुमा आएर यस्ता दृश्य विनाकारण गर्दैनथ्यँ । दर्शकले दिनुभएको प्रतिक्रियालाई मैले मायाको रुपमा हेरेको छु । मन परेको मान्छे फूलै फूलमा हिडोस् भन्ने दर्शकलाई पनि हुन्छ होला । यो चलचित्रको माध्यमबाट मैले गेम चेन्ज गर्न खोजेकी हुँ । गीत विवाद भएको समयमा म बोल्दा विवाद र बहस अझै चर्कन्थ्यो । यसैले म चुप बसेकी हुँ ।

भिडियोको प्रतिक्रियाले खुशी भएँ
गीतको भिडियो सार्वजनिक भैसकेपछि मलाई चिन्ने धेरै साथीहरुले गरेको कमेन्टले मलाई खुशी बनाएको थियो । उहाँहरुले मलाई गीतको भिडियोमा असहज देखिएको भनेर कमेन्ट गर्दा मलाई खुशी लाग्यो । किनकी, यो गीतको भिडियोमा मैले सजिलैसँग दृश्य दिएकी थिइनँ । किनकी, यो रेप केस हो । रेप कलरफूल हुँदैन । यसैले, मेरो सहमती बेगर नै गरिएको दृश्यमा म खुल्न सक्दिनँ । तर, दर्शकले मलाई खुल्न नसकेको, असहज मानेर किन गरेको भनेर प्रतिक्रिया दिदा म खुशी भएँ । दर्शकले मलाई अप्ठ्यारो भएको महशुश गर्नुभयो नि, यसपछि मलाई लाग्यो मैले त्यो भूमिकमा कुन स्तरमा निर्वाहा गरेकी रहेछु ।

गीत सार्वजनिक र इन्गेजमेन्टसँग सम्बन्ध छैन 
मेरो इन्गेजमेन्ट लगतै गीत सार्वजनिक भयो भनेर म यसको निर्माण टिमसँग रिसाएकी होइनँ । आफूले त्यो पात्र गरिसकेपछि त्यो इन्गेजमेन्ट हो कि, बिहे हो कि के हो भन्ने कुरामा तयार हुनुहुन्छ । म एउटा यस्तो परिवारमा बिहे गरेर जाँदैछु, त्यो परिवारले यो सबै कुरा वुझ्नुहुन्छ । रविना मामु, मेरो मामु सबै कुरामा मलाई समर्थन छ । उहाँहरुले यो कुरालाई कसरी लिनुपर्छ भन्ने राम्रोसँग थाहा पाउनुभएको छ । मलाई मेरो आमाबुबाले भन्नुभयो-‘हेर त कति राम्रो गरेको तिमीले, नेपालमा यस्तो कुरा पचाउन समय लाग्छ ।’ रिल र रियल कुरा फरक हो, यो कुरामा मलाई ब्यालेन्स राख्न आउँछ ।

‘कथा काठमाण्डु’मा लिभिङ टूगेदरमा बसेको जोडी
चलचित्रमा म र कलाकार प्रमोद अग्रहरि लिभिङ टूगेदरमा बसेको यूवा यूवतीको भूमिकामा छौ । तर, कतिपय सम्बन्धहरु ज्ाोडिन पनि नसक्ने, अलग हुन पनि नसक्ने खालको हुन्छ । चलचित्रको मुख्य थिम भनेको ‘हिंसा बन्द गरौ’ भन्ने हो । बिहे गरिसकेपछि छोरीलाई श्रीमान्ले पिट्यो भने पनि बोल्न हुँदैन भन्ने वुझाई हाम्रो समाजमा छ । श्रीमान्ले गर्ने हरेक क्रियाकलापलाई सहँदा त्यसले श्रीमान्को आत्मबल बढाउँदै जान्छ । हिंसा ग्राउन्ड लेबलबाट नै बन्द गर्नुपर्छ भन्ने चलचित्रले देखाउँछ ।

घरभित्रको हिंसाविरुद्ध आवाज उठाउँछ
चलचित्र ‘कथा काठमाण्डु’ले घर भित्र हुने हिंसाको विरुद्धमा आवाज उठाउँछ । चलचित्रमा म सुपर मोडलको भूमिकामा छु । तर, घर भित्र मेरो आफ्नो जीवन छ । मेरो श्रीमान्ले गर्ने बारम्बारको हिंसालाई सह्यो भने के हुन्छ र उसको आत्मबल कसरी अगाडि बढ्छ भन्ने चलचित्रले देखाउँछ । हाम्रो समाजमा श्रीमान्ले पिट्यो भने पनि ‘तिम्रो आफ्नै श्रीमान् हो, गएर सुत न’ भन्ने सोचाई छ । यसको विरुद्धमा चलचित्रले आवाज उठाउँछ । यो चलचित्र ठूलो जमातले हेर्छ या सानो जमातले मलाई थाहा छैन । तर, यसले केही परिवारमा मात्र पनि सकारात्मक परिवर्तन ल्याउन सक्यो भने म खुशी हुनेछु ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्