धनगढी : विशेष सुझाव समितिले प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी गोदावरी नगरपालिका क्षेत्रमा राख्न सुझाव दिएको छ। प्रदेशसभाको मंगलबारको बैठकमा विशेष सुझाव समितिका संयोजक तारालामा तामाङले स्थायी राजधानी र नामबारे सुझावसहितको प्रतिवेदन टेवल गरेका हुन्।
बैठकमा सुझाव प्रतिवेदन टेवल गर्दै समितिमा संयोजक तामाङले अधिकांसबाट सुदूरपश्चिम नाम राख्न र गोदावरी क्षेत्रमा स्थायी राजधानी बनाउन सुझाव आएको बताए।
‘सुदूरपश्चिम, खप्तड, कञ्चल, महाकाली, सेती–महाकाली, पश्चिम, सेतीकाली, अपी–शैपाल, डोटी र घोडाघोडी जस्ता नाम आएपनि अधिकांसले सुदूरपश्चिम राख्न सुझाव दिएका थिए’ संसदमा तामाङले भने। विगतमा सुदूरपश्चिम विकास क्षेत्रका रूपमा रहेको तत्कालीन नौ जिल्लाहरू नै यस प्रदेशमा समाहित रहेका छन्।
प्रदेशको एकता, संस्कृति, विकास र समृद्धिलाई ख्याल राख्दै प्रदेशको नाम राखिएको उनले बताए। हालसम्म कैलालीको धनगढीमा अस्थायी राजधानी रहेको प्रदेशको स्थायी राजधानीका लागि कैलालीको गोदावरी क्षेत्र सुझाव दिएको हो।
प्रतिवेदन टेवल गर्दै तामाङले भने, ‘डोटीको दिपायल, वुडर, कैलालीको खानीडाडाँ, सहजपुर, गोदापरी तथा हालकै अस्थायी राजधानी रहेको क्षेत्र धनगढीमा राख्न सुझाव आएको थियो।
तर, अधिकांसले प्रदेशमा नौ जिल्लालाई नै मध्यनजर गरेर गोदावरी उपयुक्त हुने भनेपछि त्यहि सिफारिस गरेका हौँ।’ बुधबार दिउँसो १ बजे प्रदेशको राजधानी र नामको बिषयमा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ।