नेपालको पुनः निर्माणको अनुभव संयुक्त राष्ट्रसङ्घमा



काठमाडौँ, ९ असोज  ।  भूकम्प पछिको पुनः निर्माणका बारेमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले नेपालको पुनः निर्माणको अनुभवका बारेमा संयुक्त राष्ट्रसङ्घलाई जानकारी गराउने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको भवनमा आयोजना हुने ‘विपद् पश्चात्को आवश्यकता आङ्कलन र पुनः निर्माण तथा पुनः स्थापना योजना’ विषयक कार्यक्रममा नेपालको पुनः निर्माणसम्बन्धी प्रस्तुति गर्नु हुने कार्यक्रम छ ।

 


प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपश्चात् नेपालको पुनः निर्माण तथा पुनः स्थापनासम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्नु हुने कार्यक्रम छ । आगामी शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा ज्ञवाली आज राति अमेरिकातर्फ जाँदै हुनुहुन्छ ।“कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनः निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिकलगायत अरू सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छु”, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।

कार्यक्रममा नेपालको पुनः निर्माण र पुनः स्थापना सम्बन्धमा नेपालको हाल सम्मको प्रगति अवस्था र पुनः निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ । संयुक्त राष्ट्रसङ्घ, युरोपेली सङ्घ र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरिया लगायतका देशका विभिन्न संस्थाको प्रस्तुति रहने कार्यक्रम छ ।प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरुसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्